

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति र सुनसरीको कप्तानगञ्ज घटनालाई लिएर सांसदहरूले चर्को विरोध गरेका छन्। बैठक सुरु हुनासाथ यसअघिजस्तै विपक्षी दलका सांसदहरू उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापालाई समय दिनुभएको थियो।
संसद्मा प्रमुख विपक्षी दलकी सचेतक थापाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा यसअघि व्यक्त गरेको भनाइबारे थप स्पष्ट गर्नुपर्ने माग पूरा नभएकाले निरन्तर विरोध गर्न बाध्य भएको बताउनुभयो। उहाँले हालै सुनसरीको कप्तानगञ्जमा स्थानीय युवक ओमप्रकाश मेहताको निधन भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो। नागरिकको जीउधनको रक्षा र सुरक्षा व्यवस्था सुनिश्चित गर्नु सरकारको पहिलो कर्तव्य भएको उहाँको भनाइ थियो।
सीमा अभिव्यक्ति सच्याउनुपर्ने माग
नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीले दुई महिनाअघि संसद्मा बोलेको सीमा सम्बन्धी विषय सच्याउन अनुरोध गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्मा र श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति स्पष्ट नभएको र संसद्को अभिलेखबाट सो कुरा नहटेको भन्दै दुःख व्यक्त गर्नुभयो।
सरकारलाई ‘हात ठडाउन’ वा सक्रिय हुन सांसद राईको चेतावनी
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले सरकार अहिले बेखबर भएर बस्ने नभई बाहिर निस्किएर सूचना संकलन, जनतासँग संवाद र शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताए। उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै देश र जनतालाई ‘टुहुरो’ बनाउने शैली स्वीकार्य नहुने बताए।
‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ । त्यो पाइन्छ, गर्न सकिन्छ,’ सांसद राईले भने, ‘रास्वपा आज दुई तिहाइको नजिक छ । २ सय ८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देश लिड गरेर जाला ।’
सांसद राईले सरकारलाई जिम्मेवारीबाट नभाग्न चेतावनी दिँदै या त सक्रिय रूपमा काम गर्न, नभए देश चलाउन नसक्ने स्वीकार गरेर मार्ग प्रशस्त गर्न आग्रह गरे। ‘यो ढंगले अभिभावक विहीन बनेर देश चलाउन पाइन्न । देश र जनतालाई यसरी टुहुरो बनाउन पाइन्न,’ उनले भने, ‘यसकारणले सरकार कि त निस्किनुपर्यो, कि त सक्तिनँ भनेर हात ठडाउन पर्यो ।’
यसैगरी, सांसद राईले सुनसरी घटनापछि सर्वदलीय बैठक राखेकामा रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरे। सामाजिक सद्भाव कायम गर्न सबै लाग्नुपर्ने र यसको नेतृत्व सरकारले लिनुपर्ने उनले बताए।
सुनसरी घटनामा राज्य असफल भएको आरोप
सांसद पद्माकुमारी अर्यालले यही साउन १० गते सुनसरीमा भएको घटनामा दङ्गा नियन्त्रण गर्न राज्य असफल भएको आरोप लगाउनुभयो। उत्तेजना र आवेगले समस्या समाधान नहुने भएकाले संयमता अपनाउन र कप्तानगञ्ज घटनाको जिम्मा लिन उहाँले सरकारसँग अनुरोध गर्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सुनसरीको घटनाको दिगो समाधान राजनीतिक रुपमा खोज्नुपर्ने बताउनुभयो। सामाजिक सद्भाव कायम गर्न सबै दल स्पष्ट रुपमा प्रस्तुत हुनुपर्ने र सरकारले थप पहल लिनुपर्ने उहाँको जोड थियो। सांसद शर्माले पनि सुनसरी घटनामा राज्य संवेदनशील नभएको आरोप लगाउनुभयो।
मल खोज्ने नेपाली भारतीय जेलमा, सुकुम्वासी र बाढीको मुद्दा
सांसद अर्यालले सुकुम्वासी समस्याको समाधान छिटो गर्न र रासायनिक मलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले मलको खोजीमा भारततर्फ गएका चार जना नेपाली २५–२६ दिनदेखि हराएको र अहिले उनीहरू भारतीय जेलमा थुनामा रहेको विषयलाई गम्भीर रुपमा लिई सकुशल नेपाल ल्याउन माग गर्नुभयो।
यसैगरी, उहाँले देशभर वर्षाका कारण हुनसक्ने क्षति न्यूनीकरण तथा रोकथामका लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो।






What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























