07/26/2026, 15:00:55
आइतबार, साउन १०, २०८३

२०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल भित्रिए, तर खर्च घट्यो


काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२५’ प्रतिवेदनअनुसार सन् २०२५ मा कुल ११ लाख ६२ हजार ३६५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनमा १.२९ प्रतिशतले वृद्धि भएको छ।

तर, प्रतिवेदनले पर्यटकको बसाइ अवधि बढे पनि दैनिक खर्च भने घटेको चिन्ताजनक तथ्य प्रस्तुत गरेको छ। सन् २०२४ मा प्रति पर्यटक दैनिक औसत खर्च ४०.८४ अमेरिकी डलर रहेकोमा २०२५ मा घटेर ३३.०८ अमेरिकी डलरमा सीमित भएको छ।

सन् २०२४ मा पर्यटकको औसत बसाइ १३.३ दिन रहेकोमा २०२५ मा बढेर १६.३४ दिन पुगेको छ। यसले पर्यटकहरू नेपालमा लामो समय बिताउन थालेको प्रवृत्ति देखाए पनि खर्च गर्ने क्षमतामा भने सुधार आउन नसकेको प्रतिवेदनले औंल्याएको छ।

यस वर्ष पर्यटनबाट कुल ८७ अर्ब ३७ करोड १६ लाख रुपैयाँ भ्रमण आय प्राप्त भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.७७ प्रतिशतले बढी हो। सन् २०२४ मा यो आय ८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ थियो।

प्रतिवेदनअनुसार नेपाल आउने पर्यटकमध्ये ६०.२ प्रतिशत घुमफिर तथा मनोरञ्जनका लागि आएका थिए। १४.४ प्रतिशत तीर्थयात्राका लागि र १४.२ प्रतिशत साहसिक गतिविधि तथा पर्वतारोहणका लागि आएको तथ्याङ्कले देखाएको छ। बाँकी ११.२ प्रतिशत पर्यटक व्यापार, अध्ययन वा अन्य प्रयोजनले आएका हुन्।

सन् २०२५ मा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्—करिब २ लाख ९३ हजार। त्यसपछि अमेरिकाबाट १ लाख १३ हजार, चीनबाट ९६ हजार, बेलायतबाट ५९ हजार, बंगलादेशबाट ५८ हजार र अष्ट्रेलियाबाट ५० हजार पर्यटक आएको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२५ मा पर्वतारोहण दलको सङ्ख्या ९.०५ प्रतिशतले बढेर २,५९० पुगेको छ। पर्वतारोहीको सङ्ख्या ६.८४ प्रतिशतले बढेर ९,८२० पुगेको छ। यसबाट सरकारलाई १ अर्ब २६ करोड २६ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

सन् २०२४ को तुलनामा सन् २०२५ मा लुम्बिनी भ्रमण गर्ने नेपाली तथा भारतीय पर्यटकको सङ्ख्यामा कमी आएको छ। तथापि, अन्य मुलुकबाट आउने पर्यटकको सङ्ख्या भने २९ हजार ५ सय ४४ जनाले बढेको छ। गत वर्ष भाद्र २३ र २४ मा भएको जेजेजे आन्दोलनका कारण केही समय पर्यटन गतिविधिमा असर परेको प्रतिवेदनले उल्लेख गरेको छ।

देशभर तारे होटलको सङ्ख्या २१४ बाट बढेर २२२ पुगेको छ। त्यस्तै, पर्यटकस्तरीय आवास १,३६४ बाट १,३८३ पुगेका छन्। उच्चस्तरीय होटलमा ८७६ थप शैया थपिएको छ भने अन्य आवासमा ६१६ शैया थपिएको छ।

सन् २०२५ मा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने ३२ वायुसेवा कम्पनी रहेका छन्, जसमा ५ नेपाली र २७ विदेशी कम्पनी छन्। नेपालले ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको छ। देशभर ३५ विमानस्थल सञ्चालनमा छन् भने ४२ कालोपत्रे विमानस्थल रहेका छन्।

वि.सं. २०६१ देखि २०८२ फागुनसम्म ३,२७८ प्रतिलिपि अधिकारजन्य रचना दर्ता भएका छन्, जसमध्ये सबैभन्दा धेरै २,४०३ साहित्यिक कृति रहेका छन्।

पर्यटक गुनासो

सन् २०२५ मा पर्यटन प्रहरीमा ५१५ गुनासो दर्ता भएका थिए, जसमध्ये ४५२ वटा कागजात वा सामग्री हराउनेसम्बन्धी रहेका छन्।