काठमाडौँ, साउन ७ गते । नेपाली चलचित्र क्षेत्रमा एकसाथ तीनदेखि चार चलचित्र प्रदर्शनमा आउनु नौलो होइन । चलचित्रले सोचे जस्तो व्यापार गरोस्, नगरोस् निर्माता/निर्देशक हलमा आफ्नो चलचित्र चलाउन सधैँ तत्पर देखिन्छन् । त्यसमाथि एकै पटक दुई/चार चलचित्र एउटै मितिमा प्रदर्शन हुँदा दर्शक नबाँडिने कुरै भएन । यसरी आपसमै भिडेर ‘जसरी पनि चलचित्र चलाऊँ, जसरी पनि पैसा कमाऊँ’ भन्ने मान्यता बोक्दा त्यसको असर कमाइमा हुने पक्का छ ।
साउन महिना वर्षाको मौसम तर चलचित्र निर्माता भने मौसमले पर्ने असरलाई ख्याल नगरी साउन महिनामा आफ्ना चलचित्र प्रदर्शन गर्न होडबाजी गरिरहेका छन् । हलबाट अपेक्षाकृत कमाइ होस् नहोस् चलचित्र प्रदर्शन गर्न भिड लागेको छ । यस पटक साउन महिनामा प्रदर्शन हुने भनिएका चार चलचित्रमध्ये डा. कपिल रिजाल निर्देशित चलचित्र ‘गौँथली’ हलमा लागिसकेको छ । गौँथली साउन १ गतेबाट प्रदर्शनरत छ । अन्य चलचित्र ‘हली’ र ‘कमला मिस’ साउन २२ मा एकैसाथ भिड्दै छन् । साउनको अन्तिम हप्ता अर्थात् २९ गतेदेखि ‘लज्जावती’ प्रदर्शनमा आउने तयारीमा छ ।


‘गौँथली’ ले शिक्षाको अवसर प्राप्त गर्न सङ्घर्षरत एक युवती र वैवाहिक जीवनमा उसले भोग्नु परेका अप्रत्याशित परिस्थितिलाई भावनात्मक ढङ्गले प्रस्तुत गरेको छ । फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र ‘कमला मिस’ विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ मा आधारित छ । चलचित्रमा मानसिक द्वन्द्व र मानवीय संवेदनालाई केन्द्रमा राखिएको छ । चलचित्रमार्फत निर्देशक नीर शाह करिब एक दशकपछि निर्देशनमा फर्किनुभएको छ । चलचित्रमा निर्देशक शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सर्राफ क्षेत्री र आरभ दाहाल लगायतका कलाकारको अभिनय रहेको छ ।


‘हली’ भने सामाजिक परिवर्तनको सन्देश बोकेको चलचित्र हो । चलचित्रले एउटा साधारण हलीको साहस, इमानदारी र सङ्घर्षले समाजमा ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश दिन खोजेको छ । ओम प्रतीक निर्देशित चलचित्रमा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की र अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ ।
चलचित्र ‘लज्जावती’ को लेखन तथा निर्देशक राजबहादुर सानेले गर्नुभएको छ । चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धीरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































