काठमाडौँ, साउन ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय, जनसंवाद र साङ्गठनिक सुदृढीकरणबारे पाँचबुँदे निर्देशन जारी गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले एक परिपत्र जारी गर्दै सांसदहरूलाई सो निर्देशन दिनुभएको हो।
सुशासन, जवाफदेहिता र नागरिककेन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न संसद् र तल्लो तहका नागरिकबीचको जीवन्त संवाद अपरिहार्य रहेको परिपत्रमा उल्लेख छ। सांसदको भ्रमण औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही पार्टीको दृष्टिकोण विस्तार गर्ने, संगठनलाई ऊर्जावान् बनाउने र जन-अभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने ‘रणनीतिक अभियान‘ हुनुपर्ने पार्टीको ठहर छ।
रास्वपाले सांसदहरूलाई दिएका मुख्य ५ निर्देशनहरू:
- संस्थागत समन्वय र पूर्वसूचना: कुनै पनि जिल्ला वा क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित समितिलाई आधिकारिक रूपमा जानकारी गराउनुपर्ने छ। आफ्नो क्षेत्रबाहेक अन्यत्र जाने कार्यक्रम भएमा सम्बन्धित सांसद र पार्टी संयन्त्रलाई सूचित गरी समन्वय गर्नुपर्ने छ।
- स्थानीय मुद्दाको प्राथमिकीकरण: स्थानीय समितिसँग पूर्वछलफल गरी त्यस क्षेत्रका विशिष्ट र ज्वलन्त मुद्दा पहिचान गर्ने र ती समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्न कार्यसूचीमा प्राथमिकता दिने।
- साङ्गठनिक अपनत्व र जनपरिचालन: कार्यक्रमको स्वरूप (मोडालिटी) तय गर्दा स्थानीय पार्टी संरचनाहरूको सक्रिय नेतृत्व र अपनत्व स्थापित हुने गरी सञ्चालन गर्ने।
- मितव्ययिता र सुशासन: भ्रमण तथा कार्यक्रमहरूलाई तडकभडक र अनावश्यक खर्चबाट पूर्णतः मुक्त राखी स्रोतसाधनको मितव्ययी उपयोगद्वारा सुशासनको सन्देश प्रवाह गर्ने।
- नीतिगत पृष्ठपोषण प्रणाली: जनभ्रमणका क्रममा प्राप्त सुझाव, गुनासा र स्थानीय समितिका वस्तुगत प्रतिवेदनलाई लिपिबद्ध गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्ने।
सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एकअर्काका पूरक भएकाले सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्याउने र जनताप्रतिको जवाफदेहितालाई थप कसिलो बनाउने महामन्त्री आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































