07/14/2026, 08:07:58
मङ्गलबार, असार ३०, २०८३

सञ्चार माध्यम र सञ्चारकर्मीको स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य छैन : रास्वपा


काठमाडौँ, असार ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार माध्यम र सञ्चारकर्मीको स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ । सञ्चारगृहवरपर देखिएका शङ्कास्पद गतिविधि तथा समाचारप्रति असन्तुष्टि जनाउँदै गरिएका व्यवहारले प्रेस स्वतन्त्रताको मर्ममाथि प्रश्न उठाएको भन्दै पार्टीले सरकारको ध्यानाकर्षण गराएको हो ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक व्यवस्थामा सञ्चारक्षेत्रलाई निर्भीक र स्वतन्त्र रूपमा काम गर्ने वातावरण आवश्यक रहेको उल्लेख गर्नुभएको छ । रास्वपाले सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाब दिने वा त्रासको वातावरण सिर्जना गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुने स्पष्ट पारेको छ ।

सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अङ्गलाई सङ्कुचित पार्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन,” विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न सञ्चार माध्यमका कार्यालयबाहिर पहिचान नखुलेका व्यक्तिहरूको शङ्कास्पद गतिविधि देखिएको भन्दै रास्वपाले त्यस्ता व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सरकार, गृह मन्त्रालय र सुरक्षा निकायसँग माग गरेको छ । पार्टीले सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा आफू निरन्तर उभिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।