06/11/2026, 10:00:10
बिहिबार, जेठ २८, २०८३

छपाइ त्रुटि मात्र सच्याइएको हो : अर्थमन्त्री वाग्ले


काठमाडौँ, जेठ २८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा उल्लिखित दर नभई छपाइका क्रममा भएका सामान्य त्रुटि मात्र सच्याइएको बताउनुभएको छ । गत जेठ १५ गते संसद्मा अर्थमन्त्री वाग्लेले पेस गर्नुभएको आर्थिक विधेयक त्यसपछि पनि बारम्बार सच्याइएको आरोप लागेपछि उहाँले बुधबार यस्तो स्पष्टीकरण दिनुभएको हो ।

प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उहाँले अघिल्ला वर्षमा पनि धेरै पटक आर्थिक विधेयकका त्रुटि सच्याइएको उदाहरण रहेको उल्लेख गर्नुभयो । आर्थिक विधेयक गोप्य रूपमा अर्थमन्त्रीले मात्र टाइप गर्ने नभई ठुलो समूहले छलफल गरेर निक्र्योल गर्ने उहाँको भनाइ थियो ।

आर्थिक विधेयक संसद्बाट पारित भइसकेको अवस्थामा पनि संशोधन गर्ने कानुनी अधिकार रहेको उहाँले समितिको बैठकमा बताउनुभयो । “वर्षभरि केही भइपरी आउन सक्छन् । त्यस्तो अवस्थामा सरकारले करका दर घटाउन वा बढाउन सक्ने अधिकार दफा १८ ले दिएको छ,” उहाँले भन्नुभयो ।

संशोधनको यस्तो व्यवस्था सार्वजनिक वित्तको अभ्यासमै रहेको र संसद्ले पास गरेपछि पनि संशोधन गर्न सक्ने उहाँको भनाइ थियो । “पेट्रोलको मूल्य घटाउन बिचमा हामीले पूर्वाधार शुल्क घटायौँ । यस्तो संशोधन क्याबिनेटबाट पनि हुन सक्छ,” उहाँले भन्नुभयो ।

बैठकका क्रममा अर्थमन्त्री वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको बताउनुभयो । “बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको छ,” उहाँले भन्नुभयो । त्यस क्रममा उहाँले नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित-पोषितबाट प्रधानमन्त्री र आफूविरुद्ध आक्रमण भइरहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता कुराबाट प्रभावित नहुन पनि सांसदलाई आग्रह गर्नुभयो ।

बजेटसँगै अर्थमन्त्रीले संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयकका केही बुँदा पछि सच्याइएको भन्दै सञ्चार माध्यमले प्रश्न उठाउँदै आएका छन् । अर्थमन्त्री वाग्लेले भने कुनै खराब मनसायले नभई सामान्य भाषागत त्रुटि सच्याइएको बताउँदै आउनुभएको छ ।