नयाँदिल्ली, जेठ २५ गते । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक तनावबाट विकास कूटनीतितर्फ लैजान चाहेको बताउनुभएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुई देशको सम्बन्धलाई पुराना भूराजनीतिक दृष्टिकोणबाट नभई विकास, प्रविधि र आर्थिक रूपान्तरणमा केन्द्रित नयाँ साझेदारीका रूपमा अघि बढाउन चाहेको बताउनुभयो ।
नेपालमा नयाँ राजनीतिक शक्ति उदाएको उल्लेख गर्दै मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार विगतका राजनीतिक बोझबाट मुक्त भएर परिणाममुखी कूटनीतिमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो । उहाँले भारत भ्रमणका क्रममा व्यापार, ऊर्जा, पूर्वाधार, जलस्रोत र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको जानकारी दिनुभयो ।
भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भएको द्विपक्षीय वार्तामा सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी तथा आर्थिक सहकार्यका विषयमा विस्तृत छलफल भएको मन्त्री खनालले बताउनुभयो । भ्रमणका क्रममा नेपाल र भारतबीच व्यक्ति–व्यक्ति (पिटुपी) सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको र यसबाट दुवै देशका नागरिक, पर्यटक र साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ थियो ।
त्यस्तै, भारतीय सहयोगमा निर्माण गरिएका ७२ स्वास्थ्य र १२ सांस्कृतिक क्षेत्रका भूकम्पपछिका पुनर्निर्माण परियोजना औपचारिक रूपमा हस्तान्तरण भएको तथा काठमाडौँ विश्वविद्यालय र भारतको भाषिणी डिभिजनबीच भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समझदारी भएको उहाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री खनालले भन्नुभयो, “म नेपालमा उदाएको नयाँ राजनीतिक यथार्थको प्रतिनिधित्व गर्छु । हाम्रो उदय नागरिकहरूले दिएको ऐतिहासिक जनादेशमा आधारित छ, जसको केन्द्रमा सुशासन, योग्यतामूलक प्रणाली र प्रत्यक्ष जवाफदेहिता रहेको छ । नयाँ पुस्ताको नेतृत्व भएकाले हामी विगतका बोझबाट मुक्त छौँ । हामी भारतलाई २०औँ शताब्दीको भूराजनीतिक दृष्टिकोणबाट होइन, खुला हृदय र नेपालको आर्थिक रूपान्तरणको स्पष्ट उद्देश्यसहित हेर्छौँ ।” उहाँले कागजमा गरिएका पुराना वाचाहरू र जमिनमा देखिनुपर्ने वास्तविकताबिचको दूरी हटाएर जनजीवन परिवर्तन गर्ने परिणाममुखी कामतर्फ सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सीमा क्षेत्रमा लागु गरिएको भन्सार नियमबारे सोधिएको प्रश्नमा मन्त्री खनालले भारतबाट ल्याउन पाइने सामानको सीमासम्बन्धी व्यवस्था सीमावर्ती नागरिकलाई लक्षित नभई खुला सीमाको दुरुपयोग रोक्नका लागि ल्याइएको स्पष्ट पार्नुभयो । मन्त्री खनालले भारतीय नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिँदै पशुपतिनाथ, जनकपुर, लुम्बिनी र मुक्तिनाथजस्ता धार्मिक तथा सांस्कृतिक गन्तव्यको अनुभव लिन आग्रह गर्नुभयो ।
भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जानुभएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























