06/03/2026, 23:25:25
बुधबार, जेठ २०, २०८३

मुस्ताङ भन्सारबाट १३ अर्ब ८७ करोडको कारोबार


मुक्तिनाथ (मुस्ताङ), जेठ २० गते । उपल्लो मुस्ताङको नेचुङ मा अवस्थित मुस्ताङ भन्सार कार्यालयमार्फत १३ अर्ब ८६ करोड रुपियाँभन्दा बढी मूल्यका वस्तु आयात भएका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ ३० गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त भन्सार कार्यालयबाट जेठ १८ गतेसम्म नेपालबाट करिब २० करोड ५० लाख रुपैयाँ बराबरको निर्यात तथा १३ अर्ब १६ करोड ८६ लाख ३ हजार रुपियाँ बराबरको आयात भएको छ ।

आयातित वस्तुबाट भन्सार कार्यालयले ६ अर्ब ६६ करोड रुपियाँ राजस्व सङ्कलन गरेको भन्सार कार्यालय प्रमुख विदुर चुडालले जानकारी दिनुभयो ।

चीनको तिब्बत स्वायत्त क्षेत्र अन्तर्गतको झोङ्बा जिल्लाबाट लिजी–नेचुङ (कोरला) नाका हुँदै विद्युतीय सवारीसाधनसहित विभिन्न सामान बोकेका कन्टेनर नियमित रूपमा भित्रिने गरेका छन् । प्रमुख चुडालले भन्नुभयो, “विद्युतीय सवारीसाधन आयात हुँदा राजस्व सङ्कलन उल्लेख्य रूपमा बढ्ने गरेको छ । दैनिकजसो निकासी–पैठारी भइरहेको भए पनि आयातको तुलनामा निर्यात बढ्न सकेको छैन ।

नेपाल–चीन जोड्ने कोरला नाका हुँदै विद्युतीय सवारीसाधन, घरायसी सामग्री, कस्मेटिक, विद्युतीय उपकरण, कपडा तथा जुत्ता आयात हुने गरेका छन् । नेपालबाट भने हस्तकला सामग्री, कपडा लगायतका वस्तु निर्यात हुँदै आएका छन् । कोरला नाकामा नेपालतर्फ आवश्यक पूर्वाधार नबन्दा व्यवसायीलाई समस्या भइरहेको छ ।

हालसम्म कोरला नाकाबाट दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् । नाकामार्फत पटक–पटक अवैध ‘भेप’ (विद्युतीय चुरोट) तस्करी हुन थालेपछि निगरानी कडा पारिएको छ । गत जेठ १ गते एक लाख १८ हजार थान अवैध भेप बोकेको दुई कन्टेनरसहित चालक र सहयोगीलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । यसअघि पनि दुई पटक भेपसहित चालक पक्राउ परेपछि नाका क्षेत्रमा थप कडाइ गरिएको छ ।

समुद्री सतहबाट चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाका सन् १९६० को दशकमा बन्द भएको थियो । चीनले तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएपछि तिब्बती खम्पा विद्रोहीहरूले नेपाली भूमि प्रयोग गर्न थालेकाले नाका बन्द गरिएको थियो । उक्त नाकाको औपचारिक उद्घाटन भने वि.सं. २०८० कात्तिक २७ गते गरिएको थियो ।

– हरिकृष्ण शर्मा