

काठमाडौँ, जेठ १९ गते । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक बहसको सीमाभन्दा बाहिर निकालेर विकास, व्यापार, लगानी, ऊर्जा र आर्थिक साझेदारीमा आधारित नयाँ ढाँचामा अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन्।
भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्समा मंगलबार प्रकाशित ‘आकांक्षी नेपाल र उदीयमान भारतले सम्बन्धलाई कसरी पुनः जोड्न सक्छन् ?’ शीर्षकको लेखमा लामिछानेले नेपालमा पछिल्लो समय देखिएको राजनीतिक परिवर्तनलाई ‘ब्यालट बक्स क्रान्ति’को संज्ञा दिँदै नयाँ पुस्ताले विकास, सुशासन र प्रत्यक्ष जवाफदेहितामा आधारित राजनीतिक नेतृत्व रोजेको उल्लेख गरेका छन्।
उनले रास्वपाको उदयलाई नेपालको नयाँ राजनीतिक यथार्थका रूपमा व्याख्या गर्दै विगतका राजनीतिक बोझ, अनौपचारिक समझदारी र परम्परागत वैमनस्यताबाट मुक्त भएर नेपालले भारतसँग विकास साझेदारीमा आधारित सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन्। नेपाल–भारत सम्बन्धलाई विगतका विवाद र आशंकाको चश्माबाट मात्र नभई साझा आर्थिक समृद्धिको दृष्टिकोणबाट हेर्नुपर्ने उनको धारणा छ।
पाँचदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। भेटमा लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदानप्रदान तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
लेखमा लामिछानेले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउन आठ प्रमुख प्रस्ताव अघि सारेका छन्।
सीमा विवाद समाधानका लागि संवादमा जोड
नेपाल–भारत सम्बन्धको आधार विश्वास हुनुपर्ने उल्लेख गर्दै उनले सीमा लगायतका विवादलाई दीर्घकालसम्म थाती राख्न नहुने बताएका छन्। अतिराष्ट्रवादी अभिव्यक्तिले समस्या समाधान नगर्ने उल्लेख गर्दै ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा संवादमार्फत विवाद समाधान गर्नुपर्ने उनको धारणा छ। उनले सन् २०१४ मा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमालाई ‘अवरोध होइन, पुल’का रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेको स्मरण गर्दै सम्बन्धलाई विगतका आशंकाभन्दा साझा भविष्यका सम्भावनाले परिभाषित गर्नुपर्ने बताएका छन्।
रक्सौल–काठमाडौं रेलमार्गलाई प्राथमिकता
आर्थिक सहकार्यतर्फ उनले प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गलाई नेपाल–भारत सम्बन्धको महत्वपूर्ण परियोजनाका रूपमा प्रस्तुत गरेका छन्। भारतले दैनिक ठूलो परिमाणमा रेलमार्ग विस्तार गरिरहेको सन्दर्भ उल्लेख गर्दै उनले १५० किलोमिटरभन्दा कम दूरीको उक्त रेलमार्ग सम्पन्न भए व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा उल्लेखनीय परिवर्तन आउने बताएका छन्। नेपालले केवल सीमा जोड्न नभई रेलमार्फत सम्पूर्ण अर्थतन्त्रलाई जोड्न चाहेको उनको भनाइ छ।
पोखरा र लुम्बिनीबाट भारतमा सिधा उडान
नेपाल–भारत हवाई सम्पर्क विस्तारको आवश्यकता औंल्याउँदै उनले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय सहरमा सिधा उडान सञ्चालन गर्नुपर्ने बताएका छन्। यसले पर्यटन तथा व्यावसायिक आवागमनलाई थप सहज बनाउने उनको विश्वास छ।
‘काठमाडौं–बेङ्गलुरु डिजिटल सहकार्य मार्ग’को अवधारणा
सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रलाई सहकार्यको नयाँ क्षेत्रका रूपमा प्रस्तुत गर्दै उनले ‘काठमाडौं–बेङ्गलुरु डिजिटल सहकार्य मार्ग’को अवधारणा अघि सारेका छन्। डिजिटल भुक्तानी प्रणाली, वित्तीय प्रविधि तथा सीमापार डिजिटल मञ्चमार्फत दुवै देशका साना उद्यमीलाई सशक्त बनाउन सकिने उनको भनाइ छ।
नेपालमा भारतीय शैक्षिक तथा स्वास्थ्य संस्थाको विस्तार
भारतका सूचना प्रविधि कम्पनी, नवप्रवर्तनमूलक उद्यम तथा विश्वविद्यालयलाई नेपालमा नवप्रवर्तन प्रयोगशाला, उद्यम प्रवर्द्धन केन्द्र र प्रविधि केन्द्र स्थापना गर्न आह्वान गर्दै उनले नेपालको युवा जनशक्ति, स्वच्छ ऊर्जा र विकसित हुँदै गएको डिजिटल पूर्वाधारलाई भारतीय प्रविधि पारिस्थितिकीसँग जोड्नुपर्ने बताएका छन्।
साथै, भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थाको नमुनामा नेपालमा उच्चस्तरीय शिक्षण तथा स्वास्थ्य संस्थान स्थापना गर्न सकिने धारणा पनि उनले व्यक्त गरेका छन्।
सीमा क्षेत्रमा रासायनिक मल उद्योग स्थापना
भारतको गुजरात राज्यको औद्योगिक विकासबाट प्रेरणा लिँदै नेपाल–भारत सीमा क्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्न सकिने प्रस्ताव पनि उनले अघि सारेका छन्। यस्तो सहकार्यले कृषि उत्पादन, आपूर्ति शृंखला व्यवस्थापन तथा आर्थिक विकासमा योगदान पुर्याउने उनको विश्वास छ।
जलविद्युत् र ऊर्जा बजार एकीकरण
नेपालको जलविद्युत् सम्भावनालाई भारतको औद्योगिक विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै उनले खण्डित सीमापार व्यापारको सट्टा एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्ने बताएका छन्। साथै, आधुनिक डिजिटल एकीकृत जाँच चौकी, सहज पारवहन प्रणाली तथा व्यापारिक अवरोध न्यूनीकरणमा पनि जोड दिएका छन्।
खेलकुद सहकार्य विस्तारको प्रस्ताव
खेलकुद क्षेत्रलाई पनि नेपाल–भारत सहकार्यको सम्भावित क्षेत्रका रूपमा प्रस्तुत गर्दै लामिछानेले भविष्यमा नेपाली खेलाडी मात्र होइन, नेपाली रंगशालासमेत भारतीय प्रिमियर लिगजस्ता व्यावसायिक खेल संरचनासँग जोडिन सक्ने सम्भावनाबारे सोच्नुपर्ने बताएका छन्।
लेखमा उनले नेपाल र भारतलाई केवल दुई छिमेकी मुलुक नभई साझा सभ्यता, संस्कृति र ऐतिहासिक सम्बन्धका साझेदारका रूपमा व्याख्या गरेका छन्। जनकपुर–अयोध्या, पशुपतिनाथ–केदारनाथ तथा लुम्बिनी–बोधगयाजस्ता धार्मिक तथा सांस्कृतिक केन्द्रलाई जोड्दै पर्यटन, आर्थिक विकास र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने उनको भनाइ छ।
लामिछानेले स्थिर र समृद्ध नेपाल भारतका लागि पनि रणनीतिक रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै वर्तमान समयलाई नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। विगतका आशंका र मतभेदभन्दा साझा भविष्यका सम्भावनालाई केन्द्रमा राखेर सम्बन्ध पुनर्परिभाषित गर्नुपर्ने उनको निष्कर्ष छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































