09/22/2026, 16:12:27
मङ्गलबार, असोज ०६, २०८३
विश्व अल्जाइमर्स दिवस २०२६

अल्जाइमर्सको प्रारम्भिक पहिचान र सम्मानजनक हेरचाहमा ध्यान दिन मन्त्री सिता बादीको आग्रह


काठमाडौँ, असोज ५ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सिया जस्ता मानसिक स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान, समयमै उपचार र प्रभावित व्यक्तिको सम्मानजनक हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ।

विश्व अल्जाइमर्स दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले लक्षणहरू सुरुआती चरणमै पहिचान गरी स्वस्थ जीवनशैली अपनाउन सबैमा आग्रह गर्नुभएको हो।

यस वर्ष नेपालमा “जति छिटो हुन्छ ज्ञान, उति सहज निदान : महत्त्वपूर्ण छ डिमेन्सियाको पहिचान” भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि भएसँगै अल्जाइमर्स र डिमेन्सियाको चुनौती पनि बढ्दै गएको उल्लेख गर्दै मन्त्री बादीले बिरामीहरूलाई रोगका कारण विभेद वा हेयभाव नगर्न र परिवार, समुदाय एवम् सरकारको सहकार्यमा उनीहरूको अधिकार र आत्मसम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

यसैबिच, मन्त्री बादीले विपद्का समयमा ज्येष्ठ नागरिकको संरक्षण अझ संवेदनशील बन्ने बताउनुभयो। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइते तथा बाढी प्रभावित ज्येष्ठ नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

बाढीबाट प्रभावित बनेका ज्येष्ठ नागरिकहरूका लागि उद्धार, राहत, पुनःस्थापनाका साथै स्वास्थ्य तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन मन्त्रालयले सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गरिरहेको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

क्र.सं.विषय / शीर्षकविवरण तथा मुख्य बुँदाहरू
नेपालको नारा (२०२६)“जति छिटो हुन्छ ज्ञान, उति सहज निदान : महत्त्वपूर्ण छ डिमेन्सियाको पहिचान”।
अन्तर्राष्ट्रिय नारा“The Earlier You Know; The More You Can Do: A Dementia Diagnosis Matters.”
मुख्य जोडअल्जाइमर्सको प्रारम्भिक पहिचान, विभेदको अन्त्य, स्वस्थ जीवनशैली र सम्मानजनक हेरचाह।
विपद् राहत प्रतिबद्धतारसुवा भोटेकोशी बाढी प्रभावित ज्येष्ठ नागरिकका लागि राहत, पुनःस्थापना र मनोसामाजिक सहयोग।