06/01/2026, 22:20:59
सोमबार, जेठ १८, २०८३

नेपालको पर्यटनको नयाँ कथा लेख्नुपर्ने बेला आयो : सुम्निमा उदास


ललितपुर, जेठ १८ गते । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति एवं सांसद सुम्निमा उदासले नेपाललाई सस्तो बजेट पर्यटन गन्तव्यका रूपमा होइन, विश्वमै अद्वितीय आध्यात्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन् ।

प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपालद्वारा सोमबार सुरु ४ दिने सम्मेलनलाई सम्बोधन गर्दै सांसद उदासले नेपालको पर्यटन विकासका लागि नयाँ दृष्टिकोण आवश्यक रहेको बताइन् । उनले नेपालसँग सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, बौद्धनाथ र मुक्तिनाथ जस्ता विश्वस्तरीय सम्पदा भए पनि ती सम्पदाको प्रभावकारी प्रस्तुति र ‘स्टोरीटेलिङ’ को अभाव रहेको उल्लेख गरिन् ।

नेपालको नयाँ कथा कठिन र सस्तो गन्तव्यको होइन, पृथ्वीमै कतै नभएको पवित्र भूमि, जहाँ हिमाल र गुम्बाहरूको मिलन हुन्छ र मानिसले आफूलाई भेट्टाउन सक्छ भन्ने हुनुपर्छ,’ २७ देशका सयभन्दा बढी विदेशी तथा स्वदेशीहरूमाँझ उनले भनिन् ।

उदासले संसद्‌मा दर्ता भएको नयाँ पर्यटन विधेयकलाई पर्यटन क्षेत्रका लागि पछिल्ला वर्षहरूका सबैभन्दा महत्वपूर्ण कानुनी अवसरका रूपमा व्याख्या गरिन् । उनका अनुसार विधेयकको उद्देश्य केवल पर्यटन नियमन गर्नु नभई नेपालको पर्यटनको भविष्यको परिकल्पना गर्नु रहेको छ ।

उनले नयाँ कानुन पर्यटकको अनुभव तथा पर्यटनबाट प्रत्यक्ष प्रभावित स्थानीय समुदायहरूको हितलाई केन्द्रमा राखेर निर्माण हुने बताइन् । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी उदासले लुम्बिनीको उदाहरण दिँदै नेपालले आफ्नो सम्पदा र इतिहासलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न नसकेको टिप्पणी गरिन् ।

सभापति उदासले नेपाल आउने पर्यटकको दैनिक औसत खर्च करिब ४८ अमेरिकी डलर रहेको उल्लेख गर्दै यसलाई बढाउन स्पष्ट रणनीति आवश्यक रहेको बताइन् । भारतका पूर्व नीति आयोगका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तको उदाहरण दिँदै उनले केरला र श्रीलंकाले आफ्ना सांस्कृतिक तथा स्थानीय सम्पदालाई मूल्यवान अनुभवमा रूपान्तरण गरेर पर्यटन आम्दानी उल्लेख्य रूपमा बढाएको स्मरण गराइन् । नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यसहित हिमालयन ट्राभल मार्ट २०२६ को छैटौं संस्करण सोमबार ललितपुरमा सुरु भएको हो ।

कार्यक्रममा २७ देशबाट आएका १०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी छन्, जसमा ७५ जना ग्लोबल बायर (खरिदकर्ता) तथा ८० भन्दा बढी प्रदर्शक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।