काठमाडौँ, जेठ १५ गते । इरान युद्ध सुरु भएको बिहीबार ९० दिन पुगेको छ । युद्ध टुंग्याउनका लागि विगत एक महिनादेखि निरन्तर भएका प्रयास परिणाममुखी बन्न सकेका छैनन् । ११ र १२ अप्रिलमा पाकिस्तानको मध्यस्थतामा युद्धरत दुई पक्ष इस्लामाबादमा प्रत्यक्ष वार्तामा सहभागी भएपछि यो युद्ध टुंगिने आशा बढेर गएको थियो ।
तर वार्ता सफल हुन सकेन । त्यसका बाबजुद दुबै पक्षले एक–अर्कामाथि ठूलो आक्रमण गरेनन् र पाकिस्तान तथा पश्चिम एसियाली देशको मध्यस्थतामा वार्ताको प्रयास अप्रत्यक्ष रूपमा जारी राखे । केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग विवादका मुख्य बुँदामा सहमति जुटिसकेको र हस्ताक्षर हुन मात्रै बाँकी रहेको बताएका थिए । तर, त्यसको भोलिपल्टै उनले वार्ताका लागि अमेरिकालाई कुनै हतारो नरहेको बताए ।


यसैबीच बिहीबार हर्मुज जलमार्ग तथा बन्दर अब्बास बन्दरगाहनजिकै संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध आक्रमण गरेपछि युद्धविराम फेरि एक पटक अनिश्चित बनेको छ । हर्मुज जलमार्गमा आफ्ना सेना र समुद्री यातायातका लागि खतरा मानिएका इरानी सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण गरिएको अमेरिकाको दाबी छ । इरानी सञ्चारमाध्यमहरूले भने उक्त विस्फोटबाट मानवीय वा भौतिक संरचनामा क्षति नभएको जनाएका छन् ।
इस्लामिक रिभोलुसनरी गार्ड कोप्स (आईआरजीसी) ले पनि बिहीबारै खाडीका अमेरिकी हवाई अखडामा मिसाइल हमला गरेको छ । दक्षिण इरानमा भएको अमेरिकी आक्रमणको जवाफमा यस्तो आक्रमण गरिएको आईआरजीसीले जनाएको छ । तर, कुन देशमा रहेको सैन्य अखडामा आक्रमण गरिएको भनेर खुलाएको छैन । यद्यपि, कुवेती अधिकारीहरूले आफ्नो देशमा केही मिसाइल र ड्रोन आक्रमण भएको र त्यसलाई रोकेर निस्तेज गरिएको बताएका छन् ।


वार्ताको वातावरण बनिरहेका बेला पछिल्ला आक्रमण र प्रत्याक्रमणको शृंखलाले फेरि युद्ध भड्किने त्रास बढेको छ । २८ मार्चमा इरानमाथि इजरायल–अमेरिकाले आक्रमण गरेयता इरानले हर्मुज जलमार्ग अवरुद्ध गर्दै आएको छ । विश्वको २० प्रतिशत कच्चा तेल तथा प्राकृतिक ग्यास निस्कने क्षेत्रमा भएको यस अवरोधले ऊर्जा संकट गहिरिएको छ ।
मानवअधिकारवादी संस्थाहरूका अनुसार युद्ध सुरु भएयता इरानमा कम्तीमा ३ हजार ५ सय र लेबनानमा कम्तीमा ३ हजारको मृत्यु भइसकेको छ । त्यस्तै १३ अमेरिकी सैनिकले ज्यान गुमाएका छन् भने इजरायल र पश्चिम एसियाली देशमा पनि थुप्रै सर्वसाधारण मारिएका छन् । घाइते र विस्थापितको संख्या निकै ठूलो छ । २८ फेब्रुअरीमा अमेरिका–इजरायलले गरेको आक्रमणको पहिलो निसानामै इरानका सर्वोच्च नेता अली खामेनेईसहित दर्जनौं वरिष्ठ सैन्य अधिकारीहरूको निधन भएको थियो ।
ट्रम्पले मार्चको सुरुमै आगामी तीन साताभित्र इरानको सत्ता ढल्ने दाबी गरेका थिए । तर, तीन महिना बितिसक्दा पनि अमेरिकाले आफ्नो लक्ष्य हासिल गर्न सकेन । ह्वाइटहाउसकी प्रवक्ता ओलिभिया वेल्सले भने अमेरिकी सैन्य अभियानले आफ्ना सबै लक्ष्य हासिल गरिसकेको र वार्तामा ट्रम्पको हात माथि रहेको दाबी गरेकी छन् । तर, अवस्था त्यस्तो देखिँदैन । ‘ट्रम्पले छोटो समयमै जित्ने गरी डिजाइन गरेको यो युद्ध उनका लागि दीर्घकालीन असफलतामा परिणत हुँदै छ,’ विगतमा पश्चिम एसियामा अमेरिकाको मध्यस्थकर्ताका रूपमा काम गरेका आरोन डेभिड मिलारले रोयटर्ससँग भने ।


ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवारी दिएपछिको चुनावी अभियानका क्रममा विदेशी मुलुकमाथि अनावश्यक सैन्य हस्तक्षेप नगर्ने घोषणा गरेका थिए । तर, उनले अमेरिकालाई अहिले त्यस्तो ठाउँमा ल्याएका छन्, जहाँ अमेरिकी विदेश नीति र विश्वसनीयता संकटमा परेको छ । अमेरिकाभित्रै पेट्रोल इन्धनको मूल्यवृद्धिले गर्दा इरान युद्धको विरोध भइरहेको छ । यसले आगामी नोभेम्बरमा हुने संसदीय चुनावमा उनको पार्टीलाई कडा चुनौती सामना गर्नुपर्ने देखिन्छ ।
केही विश्लेषकहरूका अनुसार ट्रम्पसँग अब सीमित र कठिन विकल्प मात्रै बाँकी छन् । पहिलो, इरानले अघि सारेका सम्झौतालाई स्विकार्ने वा आक्रमण तीव्र बनाएर अझै ठूलो संकट निम्त्याउने । दोस्रो, कूटनीति असफल भएमा अन्तिम पटक इरानमाथि छोटो समयमै तीव्र आक्रमण गर्ने, त्यसपछि आफैंलाई विजयी घोषणा गर्ने र इरान छाड्ने हो ।
विश्लेषकहरूले इरान युद्धबाट ध्यान मोड्न ट्रम्पले क्युबालक्षित कारबाहीको सम्भावना पनि छ । जसले इरान मुद्दा विषयान्तर हुनेछ । भेनेजुएलामा आक्रमण गरेर ३ जनवरीमा त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिए जसरी सहज रूपमा इरानको सत्तालाई हातमा लिने आकलन ट्रम्पले गरेको उनकै केही सहयोगीहरूले स्विकारिसकेका छन् । यद्यपि, ट्रम्पका सबै सहयोगी यसलाई मान्न तयार छैन ।


अमेरिकन ग्लोबल स्ट्र्याटिजिज कन्सल्टेन्सीमा प्रमुख कार्यकारी अधिकृत रहेका अलेक्ज्यान्द्र ग्रे ट्रम्पको इरान अभियान असफल नभएको दाबी गर्छन् । उनी ट्रम्पको पहिलो कार्यकालमा वरिष्ठ सल्लाहकार थिए । ‘इरानको सैन्य सामर्थ्यलाई ठूलो चोट पुर्याउनु नै आफैंमा रणनीतिक सफलता हो । यो युद्धले खाडी राष्ट्रहरूलाई चीनबाट टाढा र अमेरिकासँग नजिक ल्याएको छ । त्यस्तै, इरानको आणविक कार्यक्रमको नियति पनि निर्धारण हुन बाँकी छ,’ उनले भने ।
सुरुवातमा अमेरिकाले इरानको ब्यालेस्टिक मिसाइल भण्डारमाथि लगातार हवाई आक्रमण गरेको थियो । त्यस्तै, अमेरिकाले इरानी जलसेनाका धेरै डुंगाहरू डुबाइदियो र उच्च तहका नेताहरू पनि मारिए । जवाफमा तेहरानले हर्मुजमा अवरोध गर्यो । जसले गर्दा विश्वव्यापी रूपमै ऊर्जाको मूल्य अकासियो । त्यस्तै, इरानले इजरायल र खाडी मुलुकहरूमाथि लगातार प्रत्याक्रमण गर्यो । अमेरिकाले पनि बदलामा इरानका बन्दरगाहहरूमा नाकाबन्दी गर्यो, तर पनि इरानलाई झुकाउने ट्रम्पको लक्ष्य हासिल भएन ।
ट्रम्पले भने इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु युद्धको मुख्य लक्ष्य रहेको बताउँदै आएका छन् । यसले पश्चिम एसिया तथा अमेरिकी स्वार्थविरुद्ध काम गर्ने इरानको सामर्थ्य समाप्त हुने र इरानी जनताले त्यहाँको सत्तालाई सहजै हटाउने उनको दाबी छ । तर, उनका यी कुनै पनि लक्ष्य पूरा भएजस्तो देखिँदैन । विश्लेषकहरूले पनि यी लक्ष्य पूरा हुन नसक्ने बताएका छन् ।


पश्चिम एसियाका लागि अमेरिकाका पूर्वराष्ट्रिय सहायक गुप्तचर अधिकारी जोनाथन पेनिकोफ (जो अहिले एटलान्टिक काउन्सिल थिंक ट्यांकमा छन्) भन्छन्, ‘यस आक्रमणमा इरानले जतिसुकै क्षति व्यहोरेको भए पनि त्यहाँको सत्तापक्षले अमेरिकी आक्रमणबाट बच्नुलाई नै सफलता ठानेको छ । खाडी क्षेत्रमा जहाज आवागमनका लागि कतिसम्म नियन्त्रण गर्न सकिन्छ भन्ने अनुभव पनि उनीहरूले युद्धबाट हासिल गरेका छन् ।’ इरानले हर्मुजको रणनीतिक लाभ लिन यहाँबाट ओहोर-दोहोर गर्ने जहाजहरूमाथि टोल ट्याक्ससमेत उठाउन थालिसकेको छ ।
इरानको आणविक हतियार कार्यक्रम स्थगित गर्ने ट्रम्पको लक्ष्य पनि पूरा हुने देखिँदैन । गत जुलाईमा अमेरिका र इजरायलले हवाई आक्रमण गरेपछि इरानले ठूलो मात्रामा प्रशोधित युरेनियमको भण्डारलाई जमिनमुनि गाडेर लुकाएको आशंका गरिएको छ । इरानले शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम सम्वर्द्धन गर्न पाउने आफ्नो अधिकारलाई अमेरिकाले स्विकार्नुपर्ने बताउँदै आएको छ ।


दुई वरिष्ठ इरानी अधिकारीहरूले रोयटर्सलाई बताए अनुसार सर्वोच्च नेता मोज्तबा खामेनेईले आणविक बम बनाउन आवश्यक प्रशोधित युरोनियम भण्डारलाई अन्यत्र स्थानान्तरण गर्न नमिल्ने आदेश जारी गरिसकेका छन् । यसले अवस्थालाई थप जटिल बनाएको छ । यसबाट उत्तर कोरियाजस्तै इरानले पनि आफूलाई आणविक हतियार सम्पन्न देश बनाउनेमा दृढ रहेको केही विश्लेषकहरूले भनाइ छ ।
इरानले पश्चिम एसियाका सशस्त्र समूहलाई गर्दै आएको सहयोग बन्द गराउने ट्रम्पको योजना पनि सफल हुनेजस्तो देखिँदैन । वासिङ्टनस्थित थिंक ट्यांक ब्रुकिङस इन्स्टिच्युटका सिनियर फेलो रोबर्ट कागानले भियतनाम र अफगानिस्तानभन्दा पनि इरानविरुद्धको हार अमेरिकाका लागि बढी पीडादायी हुने बताएका छन् । ‘किनकि, ती देशहरू विश्व प्रतिस्पर्धाको केन्द्रमा थिएनन्’ एटलान्टिक म्यागेजिनको वेबसाइटमा उनले लेखेका छन्, ‘अब अहिलेको अवस्थाबाट पूर्ववत् ःअवस्थामा फर्कने सम्भावना छैन । अहिले भइसकेको हानिलाई अमेरिकाको कुनै विजयले मेटाउन वा जित्न सक्दैन ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































