05/24/2026, 15:03:48
आइतबार, जेठ १०, २०८३

कर्णाली करिडोर अनिश्चितकाल बन्द


रलिङ हुम्ला, जेठ १० गते । हुम्ला बाजुरा सिमा विवादका कारण कर्णाली करिडोर बन्द गरिएको छ ।

जेठ ५ गते च्याचौरमा भएको झडपको विषयलाई लिएर बाजुरा जिल्लाका युवाले कर्णाली करिडोर अन्तर्गतको पिलुचौर कवाडी सडकखण्ड पुनः बन्द गरेका छन् ।

सुदूरपश्चिम सरकारले लाम्पाटा च्याचौरमा निर्माण गर्न लागेको प्रहरी चौकीको विषयलाई लिएर भएको झडपमा परी घाइते भएका उपचार गराउनु पर्ने, उक्त घटनामा संलग्न दोसीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतका माग राख्दै हिमाली युवा समुहले जेठ ७ र ८ गते कर्णाली करिडोरको पिलुचौर देखी कुवाडी खोला सम्म सडकमा टायर बाली नाराबाजी सहित सडक पूर्ण रुपमा बन्द गरेका थिए ।

उक्त सडकमा हुम्लाका नागरिक मात्रै नभएर मुगु र हुम्ला सहित कैलाश मानसरोवर दर्शन गर्ने नागरिक समेत अलपत्रमा परेका थिए । उतिबेला धुलाचौरमा रहेका हुम्लाका नागरिकले गर्दै आएका व्यवसाय समेत बन्द गरिएका थिए ।

उक्त बन्द पश्चात जिल्ला प्रशासन कार्यालय बाजुराले सहजीकरण गरी छ बुँदे माग राख्दै २४ घण्टाको लागि बन्दलाई स्थगित गरेकोमा आन आइतबार  फेरी अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ ।

लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी सर्जमिन मुचुल्का बनाउने, उत्तः घटनामा संलग्न जा कोही दोषीलाई कानुनी दायरामा ल्याउने तथा लुटीएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको क्षतिपुर्ति पीडितलाई उपलब्ध गराउने, कुटपिट मार्फत घाइते भएकाको उपचारका लागि पीडक पक्षले पीडित पक्षलाई उपचारको पुर्ण क्षतिपुर्ति उपलब्ध गराउने, लाम्पाटा, च्याचौराका विस्थापित परिवारलाई स्थापित गरी सुरक्षाको प्रत्याभूति दिलाउने, प्रहरी चौकी निर्माण कार्य अघि बढाउने लगायतका मागहरू पुरा गर्नको लागि २४ घण्टाको अल्टिमेटम दिएर सडक सुचारु गरिएको थियो ।

जेठ ८ गते बसेको सर्वदलिय, सर्वपक्षीय बैठकले गरेका निर्णय माथि उल्लेखित कार्यहरू हुम्ला पक्षले कुनै सुरु नगरेको भन्दै आज फेरी पाँचबुँदे माग राख्दै अनिश्चितकालीन सडक अवरुद्ध गरिएको छ ।

हिमाली युवा क्लबद्धारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार माथि उल्लेखित यस अघि सर्वदलीय सर्वपक्षीय बैठकद्धारा गरिएका कार्यहरू पुरा नभएसम्मको लागि सडक पूर्णरुपमा बन्द गरिएको उल्लेख गरिएको छ ।

यता हुम्ला जिल्ला प्रशासन कार्यालयले जिल्लाको सामूहिक धारण तय गर्नको लागि अहिले सर्वदलीय तथा सर्वपक्षीय बैठक बसी रहेको जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..