

सर्लाही, वैशाख ३१ गते । बरहथवा–मधुवनी सडकअन्तर्गत रामनगर गाउँपालिका–५ बैजनाथ चोकमा मङ्गलबार साँझ ज ७ प २६१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
हेल्मेट नलगाएका कारण मोटरसाइकल चालक भारतको सीतामढीका ३५ वर्षीय गौरव पटेलको टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकले हेल्मेट नलगाएको मात्र होइन, मोटरसाइकल पनि तीव्र गतिमा रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
मोटरसाइकल ठोक्किँदा कल्भर्टमा लगाइएको सिमेन्टको बारसमेत भत्किएको इलाका प्रहरी कार्यालय गडहिया ले जनाएको छ । घटनास्थल पुगेका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार साँघुरो ‘वान वे’ कल्भर्टमा तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान गरिएको छ ।
प्रहरी टोली घटनास्थलमा पुग्दा गौरव पटेलको टाउको र अनुहारमा गहिरो चोट लागेको तथा कानबाट रगत बगिरहेको अवस्थामा फेला परेका थिए । पछाडि सवार भारतकै २३ वर्षीय उज्वल पटेल अचेत अवस्थामा भेटिएका थिए । उनको भारतको सीतामढीस्थित एक अस्पतालको आईसीयूमा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार गौरव र उज्वल गडहिया चोकस्थित एक होटलमा खाजा खाएर निस्किने क्रममा दुर्घटनामा परेका हुन् । उनीहरूले होटलकै मोटरसाइकल मागेर चलाएका थिए ।
यसअघि गत बिहीबार बिहान हरिपुर्वा नगरपालिका–९ खीला गाउँनजिक बाँके–सङ्ग्रामपुर सडकमा ग १ ख ९४६७ नम्बरको बस र ना ४८ प ४७० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजारका २७ वर्षीय मनिषकुमार महतोको मृत्यु भएको थियो । उनले पनि हेल्मेट लगाएका थिएनन् । हेल्मेट नलगाएकै कारण दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, गत आइतबार साँझ ईश्वरपुर नगरपालिका–२ राइटरखोरमा तीव्र गतिमा रहेको बीआर ३० इ ६९०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका स्थानीय ६५ वर्षीय किसुनदेव साहको मृत्यु भएको थियो ।
सर्लाहीमा एक सातामै मोटरसाइकल दुर्घटनामा दुई चालक र एक साइकलयात्रीको मृत्यु भइसकेको छ । ट्राफिक नियमको पालना नगरी लापरवाहीपूर्वक सवारी चलाउने प्रवृत्तिका कारण गम्भीर प्रकृतिका दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार दुर्घटनामा परेका अधिकांश चालकसँग सवारी चालक अनुमति पत्र ९लाइसेन्स० नभएको र हेल्मेटसमेत नलगाएको पाइएको छ । उहाँले बारम्बार चेकिङ र सचेतना कार्यक्रम सञ्चालन गर्दा पनि हेल्मेट नलगाउने तथा लापरवाही ढङ्गले मोटरसाइकल चलाउने प्रवृत्ति नियन्त्रण हुन नसकेको बताउनुभयो ।
“ग्रामीण क्षेत्रमा हेल्मेट ‘लेग–गार्ड’मा झुन्ड्याएर तीन–चार जनासम्म चढेर मोटरसाइकल चलाउने प्रवृत्ति बढ्दो छ,” प्रहरी निरीक्षक साहले भन्नुभयो, “प्रहरी देख्नेबित्तिकै भाग्ने प्रवृत्तिले नियन्त्रण गर्न थप चुनौती भइरहेको छ ।” उहाँले अधिकांश साँझपख हुने दुर्घटनामा चालकले मादक पदार्थ सेवन गरेको हुन सक्ने आशंका पनि व्यक्त गर्नुभयो ।
नागरिक समाज सर्लाहीका अगुवा तथा पूर्व शिक्षक रजनीकान्त झाले लाइसेन्सबिनाका चालक र हेल्मेट नलगाउनेलाई कडाइका साथ कारबाही नगरेसम्म यस्तो प्रवृत्ति नरोकिने बताउनुभयो । “अनुभवहीन र अपरिपक्व ढङ्गले मोटरसाइकल चलाउँदा चालक मात्र होइन, सडकमा हिँडिरहेका अन्य व्यक्तिको जीवनसमेत जोखिममा परेको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार अभिभावकको बेवास्ता र कमजोर निगरानीका कारण किशोर तथा युवाले जथाभावी मोटरसाइकल चलाउने प्रवृत्ति बढेको छ ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना बढ्नुको अर्को कारण सडकको कमजोर अवस्था पनि रहेको जनाएको छ । सर्लाहीमा अहिले विस्तारको क्रममा रहेको महेन्द्र राजमार्ग अन्तर्गत दर्जनौँ स्थानमा पुल तथा कल्भर्ट निर्माण भइरहेको छ भने वर्षाका कारण भित्री सडकसमेत जीर्ण बनेका छन् ।
– जनार्जन खत्री
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























