05/12/2026, 09:29:52
मङ्गलबार, बैशाख २९, २०८३

रोकियो कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय


काठमाडौँ, वैशाख २९ गते । सर्वोच्च अदालतले निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय तत्काल यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासको बहुमतको रायले सङ्गठन खारेजको निर्णय तत्काल रोकिएको हो ।

कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाँल, सारङ्गा सुवेदी र विनोद शर्माको संवैधानिक इजलासको बहुमतले उक्त आदेश गरेको हो । अल्पकालीन अन्तरिम आदेशको पक्षमा प्रधान, रेग्मी र फुयाँल रहनुभएको छ । सुवेदी र शर्माले अल्पकालीन आदेशको हदसम्म भने फरक राय लेख्नुभएको छ । अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई झिकाउन भने पाँचै न्यायाधीशको एकै राय रहेको छ ।

तीन सदस्यीय बहुमत पक्षले ट्रेड युनियनको अधिकार संविधानले प्रत्याभूत गरेको सामूहिक सौदाबाजीको हक भएको आदेशमा उल्लेख छ । आदेशमा भनिएको छ, “निवेदक मागदाबी तथा विद्वान् कानुन व्यवसायीको जिकिर रहेको सन्दर्भलाई विचार गर्दा हाललाई केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १० कार्यान्वयन नगर्नू/नगराउनू भनी विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।

अल्पकालीन आदेश जारीको हदसम्म शर्मा र सुवेदीको फरक राय रहेको छ । छलफलमा झिकाउन भने पाँचै सदस्यको राय एकै रहेको छ । अल्पमतको रायमा भनिएको छ, “रिट निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्थासमेत नदेखिएको सन्दर्भमा उक्त अध्यादेश अनुसारको संशोधित व्यवस्थाको कार्यान्वयन रोक्न पर्ने/नपर्ने सम्बन्धमा प्रत्यर्थीसमेतसँग छलफल गरी टुङ्गोमा पुग्न मनासिब देखिँदा कारण देखाऊ आदेश जारी गर्ने र प्रत्यर्थीलाई छलफलमा झिकाउने भन्नेसम्म बहुमतको रायमा सहमति रहे पनि अहिले नै एकपक्षीय सुनुवाइबाट अल्पकालीन अन्तरिम आदेश जारी गर्ने भन्ने हदसम्म सहमति नरहेकोले प्रस्तुत फरक राय व्यक्त गर्दछौँ ।

अदालतले दुवै पक्षलाई जेठ ६ गते अन्तरिम आदेश छलफलका लागि झिकाएको छ । उक्त छलफलबाट अल्पकालीन आदेशले निरन्तरता पाएमा सङ्गठन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लाग्ने छ ।

विद्यार्थी सङ्गठनबारे पनि अन्तरिम आदेश

सर्वोच्च अदालतले विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले दुवै पक्षको छलफलबाट अर्को आदेश नहुँदासम्म निर्णय कार्यान्वयनलाई यथास्थितिमा राख्न आदेश गरेको हो । अदालतले जेठ ४ गते दुवै पक्षलाई अन्तरिम आदेश छलफलका लागि झिकाउने आदेश पनि गरेको छ ।

विद्यार्थी सङ्गठनहरूमाथि अमूर्त र अप्रमाणित आरोप लगाएर राजनीतिक उद्देश्यप्रेरित भई खारेज गरिएको भन्दै अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष दीपक धामीसमेत निवेदक भएको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, “निवेदकहरूले अन्तरिम आदेशसमेत माग गरेको देखिँदा सो सम्बन्धमा दुवै पक्षलाई रोहबरमा राखी छलफल गर्नुपर्ने देखिँदा सो प्रयोजनका लागि रिट निवेदकलाई मिति २०८३/२/४ गतेको अन्तरिम आदेश छलफलको पेसी तोकी सोको दिन मिति २०८२/१२/१३ र २०८२/१२/२० को निर्णयसम्बन्धी फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाई पेसीको सूचना विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।