05/10/2026, 19:48:20
आइतबार, बैशाख २७, २०८३

बर्दिबासमा सुकुमवासीको विरोध प्रदर्शन


गौशाला (महोत्तरी), वैशाख २७ गते । सरकारले सरकारी तथा ऐलानी जग्गामा रहेका बस्ती हटाउने तयारी गरेको भन्दै महोत्तरीको बर्दिबासमा सुकुमवासी, दलित तथा अव्यवस्थित बसोवासीहरूले विरोध प्रदर्शन गरेका छन्।

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, महोत्तरीको नेतृत्वमा आयोजित प्रदर्शनमा ठुलो सङ्ख्यामा भूमिहीन तथा सुकुमवासी परिवारहरूको सहभागिता रहेको थियो।

प्रदर्शनकारीहरूले सुकुमवासीलाई विस्थापित नगरी सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने माग गर्दै विभिन्न नारासहित सरकारको ध्यानाकर्षण गराएका छन् । “भूमि हाम्रो अधिकार हो”, “डोजर आतङ्क बन्द गर”, “सुकुमवासीलाई आवास सुनिश्चित गर” जस्ता नाराहरू प्रदर्शनमा लागेका थिए ।

भप्सी खोलाबाट सुरु भएको जुलुस बर्दिबासको मुख्यबजार क्षेत्र परिक्रमा गर्दै सिन्धुली रोड चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै भूमि अधिकार मञ्चका केन्द्रीय महासचिव फौदसिंह स्याङ्गवाले सरकारले सुकुमवासी बस्तीमा डोजर प्रयोग नगर्न आग्रह गर्नुभयो। उहाँले वर्षौंदेखि बसोवास गर्दैआएका भूमिहीन परिवारलाई उचित व्यवस्थापन गरी उनीहरू बसोवास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गर्नुभएको थियो ।

स्यांगवाले वास्तविक सुकुमवासीहरू अहिले असुरक्षित र त्रसित अवस्थामा बाँच्न बाध्य भएको उल्लेख गर्दै जबरजस्ती बस्ती हटाउने कार्य मानव अधिकारविपरीत भएको धारणा राख्नुभयो। उहाँका अनुसार पछिल्लो समय भइरहेको डोजर अभियानका कारण महोत्तरीका भूमिहीन समुदायमा त्रासको अवस्था सिर्जना भएको छ।

त्यसैगरी राष्ट्रिय भूमि अधिकार मञ्च महोत्तरीका अध्यक्ष नेत्रबहादुर कार्की (बलराम)ले सरकारको सुकुमवासी व्यवस्थापन नीति सकारात्मक भए पनि वैकल्पिक व्यवस्था नगरी उठीवास गराउने कार्य उचित नभएको बताउनुभयो। उहाँले बसोवास गरिरहेको स्थानको लालपुर्जा उपलब्ध गराएर मात्र व्यवस्थापन प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्नुभयो।

– अजय साह