05/08/2026, 18:19:42
शुक्रबार, बैशाख २५, २०८३

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता


जकार्ता, वैशाख २५ गते । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो” ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएको उद्धार अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ । अधिकारीका अनुसार बेपत्ता हुनेमा नौ जना सिङ्गापुरका नागरिक रहेका छन् भने विस्फोट हुँदा करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धुवाँ फैलिएको छ ।

उद्धार टोली उद्धारका लागि तैनाथ रहेको उल्लेख गर्दै अधिकारीले घाइते व्यक्तिबारे अझै पुष्टि नभएको बताएका छन् । रिपोर्टका आधारमा बेपत्ता भएका २० जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी इवान रामदानीले पुष्टि गर्नुभएको छ । वैज्ञानिकले पछिल्लो समयमा इन्डोनेसियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिएपछि अप्रिल–१७ देखि यो क्षेत्र आगन्तुकका लागि बन्द गरिएको भए ता पनि बेपत्ता सबै पर्वतारोही रहेको उहाँले उल्लेख गर्नु भएको छ ।

इन्डोनेसियको भू-विज्ञान विभागका प्रमुख लाना सारियाले विस्फोटले उत्तरी मालुकु प्रान्तको माउन्ट डुकोनोको शिखरबाट करिब १० किलोमिटर टाढाको क्षेत्र सम्म प्रभाव गरेको पुष्टि गर्नुभएको छ । विस्फोटको खरानी उत्तरतर्फ धेरै फैलिएको उल्लेख गर्दै यस तर्फका आवासीय क्षेत्रमा सतर्कता अपनाउनु आवश्यक भएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

इन्डोनेसिया एक विशाल द्वीपसमूहको राष्ट्र र यसको भौगोलिक स्थितिको कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी गतिविधिको सामना गर्ने गरेको जनाइएको छ । माउन्ट डुकोनो हाल इन्डोनेसियाको चेतावनी प्रणालीको तेस्रो-उच्च सतर्कता स्तरमा रहेको जनाइएको छ । गत डिसेम्बरदेखि सेन्टर फर भोल्कानोलोजी एन्ड जियोलोजिकल हजार्ड मिटिगेसन (पिभिएमबिजी)ले पर्यटक तथा पर्वतारोहीलाई ज्वालामुखीको चार किलोमिटर भित्रमा नआउन सिफारिस गरेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..