

भारदह (सप्तरी), वैशाख २३ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले जबर्जस्ती करणी प्रयासको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–८ निवासी २२ वर्षीय सुरजप्रकाश मण्डल रहनुभएको छ।
प्रहरीका अनुसार वैशाख २१ गते राति करिब १ बजे मण्डलले स्थानीय एक बालिकाको घरमा प्रवेश गरी जबर्जस्ती करणी गर्न खोजेको भन्दै पीडित पक्षले जाहेरी दिएको थियो। जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका मण्डलविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।
यसैबिच, अभद्र व्यवहार मुद्दामा भारत, उत्तर प्रदेशस्थित फत्तेपुर गयन्द बरिपुर हावई निवासी २५ वर्षीय पुरुषोत्तम सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार अग्नीसाइर कृष्णासवरन गाउँपालिका–१ मा सोमबार सिंहले चलाएको यूपी ४१ बीटी ६७५६ नम्बरको ट्रकले सोही स्थानमा रोकिराखेको प्र १–०२–००१ ज ३८३७ नम्बरको म्याजिक गाडीलाई ठक्कर दिएको थियो। घटनाबारे सोधपुछ गर्दा उनले प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रवक्ता पुरीले बताउनुभयो।
सिंहविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
– सुधा देव
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























