

रौतहट, वैशाख १८ गते । जग्गा विवादको मुद्दा अदालतमा चलिरहेकै अवस्थामा बुवाको हत्या गरी मुद्दासँग सम्बन्धित छिमेकीलाई फसाउन खोज्ने छोरा २० वर्षपछि पक्राउ परेको छ।
जिल्लाको गरुडा नगरपालिका–१ (साविक जयनगर–४) का ६८ वर्षीय विशेश्वर महतो कोइरीको २०६४ साल जेठ २० गते राति उनका छोरा रामबिलास महतो कोईरीले हत्या गरेका थिए। घटनाको अनुसन्धान गर्ने क्रममा विशेश्वरका कान्छा छोरा रामबिलासले नै बुवाको हत्या गरेको खुलेको थियो। घटनापछि फरार रहेका रामबिलासलाई बुधबार चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए। प्रहरीले उनलाई बिहीबार सार्वजनिक गरेको छ।
जिल्ला प्रहरीका अनुसार रामबिलासले गाउँका धेरै मानिससँग ऋण लिएका थिए। उनले जुन व्यक्तिसँग ऋण लिएका थिए, त्यही व्यक्तिसँग अदालतमा जग्गा खिचलोसम्बन्धी मुद्दा पनि परेको थियो।
‘मुद्दाका लागि पैसा समेत नभएको र बुवाको हत्या गरेर विपक्षीलाई फसाउन पाए ऋण पनि तिर्न नपर्ने र मुद्दा समेत मिल्ने हिसाबले घटना गराएका रहेछन्,’ डीएसपी बस्यालले भने, ‘अरूलाई फसाउँछु भन्दा आफैं फन्दामा परे।‘
प्रहरीका अनुसार आर्थिक संकट, ऋणको चाप र जग्गा विवादबाट छुटकारा पाउने उद्देश्यले रामबिलासले बुवा सुतिरहेको अवस्थामा हातखुट्टा बाँधी धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेका थिए। हत्या पछि ऋण तिर्नु नपर्ने र विपक्षीलाई ज्यान मुद्दामा फसाउन सकिने सोचका साथ उनले यस्तो जघन्य अपराध गरेको अनुसन्धानबाट खुलेको डीएसपी बस्यालले जनाए।
रामबिलाससँग जग्गाको खिचलो परेको व्यक्ति, कति ऋण र कोसँग लिएको भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन।
– शिव पुरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































