04/29/2026, 22:05:53
बुधबार, बैशाख १६, २०८३

मेची राजमार्ग एक साता दिउँसो बन्द हुने


पाँचथर, वैशाख १६ गते । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पुल मर्मत र पहिरो नियन्त्रणको काम अगाडि बढाउन एक सातासम्म दिनभर बन्द गरिने भएको छ ।

सडक डिभिजन इलाम र जिल्ला प्रशासन कार्यालय इलामले सार्वजनिक सूचना जारी गर्दै वैशाख २३ देखि ३० गतेसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द हुने जनाएका हुन् । प्रशासनका अनुसार गत असोज महिनामा पहिरोका कारण क्षतिग्रस्त राजदुवालीस्थित पुरानो स्टिल ट्रस पुल मर्मतसँगै त्यस क्षेत्रको पहिरो नियन्त्रण र सडक माथि रहेका कडा चट्टान काट्न एकसाता सडक बन्द गर्न लागिएको हो ।

सडक मर्मतका क्रममा हुनसक्ने सम्भावित जोखिम कम गर्न राजमार्ग आंशिक रूपमा बन्द गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

सडक डिभिजन इलामको अनुरोध तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सो अवधिमा राजदुवाली खण्डमा सवारी आवागमन रोकिने भएको हो । प्रशासनले बन्द अवधिमा मेची कोरिडोर (गोलाखर्क–बेलासे) वा सिमलगोलाई–तिल्केनी सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरेको छ । योसँगै बाघखोर खण्डबाट हासपोखरी–होपेनचोक सडक प्रयोग गरेर साना सवारी ओहोरदोहोर गर्न सक्ने जनाइएको छ ।

निर्माण कार्य सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि आवश्यक भएकाले यात्रु तथा सवारी चालकलाई असहज रुपमा नलिन प्रशासनले अनुरोध गरेको छ ।

-लक्ष्मी गौतम