04/20/2026, 11:26:38
सोमबार, बैशाख ०७, २०८३

बागमतीमा अनियन्त्रित दोहन, सरकारी टोलीको अनुगमन


सर्लाही, वैशाख ७ गते । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती खोलाको मलाहटोल तथा हरैया घाटमा मनपरी रूपमा नदीजन्य पदार्थ (गिट्टी, बालुवा) उत्खनन भइरहेको पाइएको छ ।

अवैध तथा अन्धाधुन्ध उत्खनन भइरहेको गुनासो आएपछि आइतबार सर्लाहीका प्रतिनिधिसभा सदस्य नरेन्द्र साह कलवार, प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया तथा सुरक्षा निकायका प्रमुखसहितको टोली अनुगमनमा पुगेको थियो । सो क्रममा सर्लाहीतर्फ बरहथवा नगरपालिका–१, हजरियास्थित सहनीटोल घाट र रौतहटको गढीमाई नगरपालिका तथा वृन्दावन नगरपालिका क्षेत्रअन्तर्गत पर्ने हरैया घाटमा अनियन्त्रित उत्खनन भइरहेको पाइएको हो ।

अनुगमन टोली पुग्नासाथ उत्खननमा संलग्न एक दर्जनभन्दा बढी टिपर र जेसिबी रौतहटतर्फ भागेको बताइएको छ । रौतहटको गढीमाई र वृन्दावन नगरपालिकाले सो क्षेत्रमा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाएका छन् ।

सर्लाहीतर्फ बरहथवा नगरपालिकाले ठेक्का लगाउने प्रयास असफल भएपछि रौतहटतर्फबाट अनियन्त्रित रूपमा उत्खनन भइरहेको पाइएको छ । बागमती नदीको मलाहटोल र हरैया घाट क्षेत्रमा दुई जिल्लाका स्थानीय तहबिच सीमा विवादसमेत रहेको छ ।

सीमा विवादको फाइदा उठाउँदै रौतहटपट्टिबाट सर्लाहीतर्फ तटबन्धको नजिकै आएर अन्धाधुन्ध उत्खनन भइरहेको बरहथवा नगरपालिका–१, हजरियाका वडाध्यक्ष राकेश सहनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बारम्बार रोक्न आग्रह गर्दा पनि सुनुवाइ भएको छैन । रातको समयमा स्काभेटर ल्याएर उत्खनन हुन्छ, हामी निरीह भएर हेरेर बस्न बाध्य छौँ ।

जथाभावी उत्खननका कारण बागमती खोलामा दर्जनौँ स्थानमा ठुला खाल्डा बनेका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अनुगमनका क्रममा मनपरी उत्खनन भएको पाइएको बताउनुभयो । उहाँले तत्कालै रौतहटका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरी आवश्यक पहल गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जहाँबाट ठेक्का लगाइएको भए पनि मापदण्डविपरीत उत्खनन गर्न पाइँदैन । तत्काल बैठक बसेर आवश्यक कदम चाल्छौँ ।

यता, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले उक्त क्षेत्रमा सीमा विवाद समाधान र अनियन्त्रित उत्खनन रोक्न बुधबार दुवै जिल्लाका जनप्रतिनिधि, सुरक्षा अधिकारी तथा सरोकारवालासँग छलफल गरिने बताउनुभएको छ । उहाँका अनुसार सीमा विवादकै कारण दुवै पक्षले आ–आफ्नो क्षेत्र दाबी गर्दै आएका छन् ।

भुसालले दुई साताअघि पनि अनुगमन गरिएको र त्यसबेला अन्धाधुन्ध उत्खनन नदेखिएको बताउनुभयो । उहाँले आवश्यक परे प्रहरी परिचालन गरेर उत्खनन रोकिएको जानकारी दिनुभयो ।

बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले मलाहटोल घाटमा ठेक्का लगाउन नसकिएको बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा सूचना निकालिए पनि ठेक्का लिन कोही पनि नआएको हो ।

उहाँले बरहथवा नगरपालिकाले बागमती बजार घाट क्षेत्रमा मात्र ठेक्का लगाएको जानकारी दिनुभयो । अनुगमन टोली पुगेको सूचना पाएपछि उत्खननमा प्रयोग गरिएका तीन वटा स्काभेटर बजारघाट नजिकै मकैबारीमा लुकाइएको भेटिएको स्थानीयले बताएका छन् ।

सम्बन्धित निकायबाट नियमित अनुगमन नहुँदा बागमती नदीका विभिन्न घाटबाट दैनिक रूपमा मनपरी उत्खनन भइरहेको स्थानीयको गुनासो छ । जथाभावी उत्खननले नदीको बाँध, खेत र बस्ती जोखिममा परेको उनीहरूको भनाइ छ ।

– जनार्जन खत्री