04/13/2026, 18:44:06
सोमबार, चैत ३०, २०८२

किसानलाई व्यावसायिक बनाउन बेसार खेती


इलाम, चैत ३० गते । पछिल्लो समय जंगली जनावरले खेती बाली नष्ट गर्न थालेपछि इलामको माइजोगमाई गाउँपालिकाले किसानलाई बेसार खेती गर्न प्रोत्साहित गर्न थालेको छ ।

गाउँपालिकाले एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत वडा –५ मा बेसार खेती गर्न किसानलाई प्रेरित गरिरहेको छ । पछिल्लो समय बाँदर, बंदेल, दुम्सीजस्ता जंगली जनावारले अन्य खेती तथा तरकारी बाली नष्ट गर्न थालेपछि किसानलाई आयआर्जन गर्न मिल्ने वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षण होस् भनेर यो कार्यक्रम सुुरु गरेको गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताउनुुभयो ।

गाउँपालिका र कृषि शाखाको सहयोगमा सञ्चालित सामूहिक बचत तथा कृषि समूहमार्फत बेसार खेती सुरु गरिएको जनाइएको छ । ‘आउँदो वर्ष एकसय मनदेखि एकसय २० मन बेसार खेती उत्पादन गर्ने लक्ष्य छ’  उपाध्यक्ष राईले भन्नुुभयो ।

अहिले गाउँपालिकाकै सहयोगमा समूहले करिब ९० हजार रुपियाँको बेसार काट्ने मेसिन खरिद गरिएको छ । यो आधुनिक उपकरणको प्रयोगले उत्पादन र बेसारको बजारीकरणमा सहयोग पुुग्ने अपेक्षा लिइएको उपाध्यक्ष राईले बताउनुुभयो ।

– कोकिला ढकाल