04/05/2026, 11:45:47
आइतबार, चैत २२, २०८२

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास


काठमाडौँ, चैत १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार शपथका लागि निर्धारित समयभन्दा केही अगाडि राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी छ । उनले दिउँसो १२ : ३४ मा शपथ लिने समय तय भएको छ। शाहसँगै आजै मन्त्रीहरूले पनि शपथ लिने छन्।

रास्वपाका एक नेताका अनुसार प्रधानमन्त्रीसहित १६ जनाको मन्त्रिपरिषद् बनाउने योजना छ । त्यसमा महिलाको प्रतिनिधित्व एक तिहाइ गराउने प्रयास भइरहेको छ । रास्वपामा प्रत्यक्षबाट १३ र समानुपातिकबाट ४८ गरी एक तिहाइ महिला सांसद छन् । ‘पर्यटन र उद्योग मन्त्रालय एउटै मन्त्रीलाई दिने तयारी छ । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय पनि एउटै मन्त्रीले हेर्ने गरी छलफल भइरहेको छ,’ ती नेताले भने ।

मन्त्री चयन, सरकारका सुरुवाती चरणका प्राथमिकता लगायतका विषयमा सभापति र वरिष्ठ नेता निरन्तर छलफलमा रहेको रास्वपाका नेताहरूले जानकारी दिएका छन् । कसलाई मन्त्री बनाउने भन्नेबारे भने अन्य नेताहरूलाई सभापति र वरिष्ठ नेताले जानकारी नदिएको रास्वपाका दोस्रो तहका नेताहरूले बताएका छन् । रास्वपाका एक शीर्ष नेताले भने, ‘को मन्त्री बन्ने भन्नेबारे उहाँहरूले निरन्तर छलफल गरिरहनुभएको छ । तर को बन्दै हुनुहुन्छ भनेर अनुमान गर्न सक्ने अवस्था छैन ।

ती नेताका अनुसार मन्त्री बन्ने सूचीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल, सस्मित पोखरेल लगायतको नाम चर्चामा छ ।

अर्थमन्त्रीमा वाग्ले, परराष्ट्रमन्त्रीमा खनालले शपथ लिने निश्चितजस्तै छ । लम्सालले गृह र भौतिक पूर्वाधारमध्ये कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने टुंगो लागिसकेको छैन,’ उनले भने, ‘आन्दोलनबाट आएका सुधन गुरुङलाई पनि मन्त्री बनाउने गरी छलफल भइरहेको छ, मन्त्रालय टुंगो लागेको छैन ।

लगातार दुई पटक प्रत्यक्ष प्रणालीबाट निर्वाचित सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा दिने तयारी छ । यसै पटक समानुपातिक प्रणालीबाट सांसद बनेकी प्रतिभा रावललाई पनि मन्त्रीको जिम्मेवारी दिनेबारे छलफल चलिरहेको रास्वपाका अर्का नेताले जानकारी दिए ।

सस्मित पोखरेलको पनि चर्चा छ,’ उनले भने, ‘कांग्रेस सभापति गगन थापालाई पराजित गरेर सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंहलाई मन्त्री बनाउने छलफल भइरहेको छ ।

मन्त्रीहरूको नाम टुंगो लगाउन आज बिहान ७ बजे सभापति लामिछाने र वरिष्ठ नेता शाहसहित उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बैठक तय गरिएको छ ।