04/07/2026, 04:01:09
सोमबार, चैत २३, २०८२

निर्वाचनका दिन आवश्यकता अनुसार मात्रै आन्तरिक उडान : उड्डयन प्राधिकरण


काठमाडौँ, फाल्गुन १९ : नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा निर्वाचनका दिन फागुन २१ गते बिहीबार देशभरका सबै प्रकारका आन्तरिक उडान आवश्यकता अनुसार सञ्चालन हुने जनाएको छ ।

प्राधिकरणले मंगलबार जारी गरेको सूचनामा आवश्यकता अनुसार आन्तरिक उडान हुने भनिएको छ । अन्तर्राष्ट्रिय उडानसमेत सामान्य अवस्थामा रहने उल्लेख गरिएको छ । काठमाडौं विमानस्थलमा सामान्य दिनमा एकतर्फी आन्तरिकतर्फ १ सय २५ देखि १ सय ४७ सम्म उडान हुने गरेका छन् । दुईतर्फी गरेर झण्डै ३ सय आन्तरिक उडान सञ्चालन हुने तथ्यांक छ । अन्तर्राष्ट्रियतर्फ दैनिक एकतर्फी करिब ५० र दुईतर्फी गरेर सय हाराहारी उडान हुने गर्छन् ।

इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबार बिहान इरानमा आक्रमण गरेयता अन्तर्राष्ट्रिय उडान संख्या घटेर ७४ देखि ७८ हाराहारीमा सीमित भएका छन् । प्राधिकरणले परिस्थिति अनुसार उडान तालिका परिमार्जन हुँदै जाने बताएको छ ।

खाडी मुलुकका गन्तव्यमा हुने उडान भने सम्बन्धित देशको निर्णय र उडान हुने विमानस्थलको अवस्थाको आधारमा सञ्चालन हुने जनाइएको छ । ती गन्तव्यका उडान वायुसेवा कम्पनीहरूले संशोधित उडान तालिका अनुसार सञ्चालन गर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

यसअघि ‘खाडी मुलुकका उडान नहुने’ भन्ने सूचना बाहिरिएपछि उत्पन्न अन्योललाई स्पष्ट पार्दै प्राधिकरणले सबै सरोकारवालालाई अद्यावधिक जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।