10/14/2026, 09:16:52
बुधबार, असोज २८, २०८३

त्रिविद्वारा डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्धन र वित्तीय सुधारका नयाँ योजना सार्वजनिक

विश्वविद्यालयलाई 'रिसर्च युनिभर्सिटी' र 'डिजिटल विश्वविद्यालय' का रूपमा विकास गर्ने लक्ष्य; परीक्षा प्रणाली पूर्ण रूपमा डिजिटल हुने।


काठमाडौँ, असोज २८ गते । त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अगाडि सारेको छ।

त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राज्ञिक स्वरूपमा ठुलो फेरबदल आउने अपेक्षा गरिएको छ।

नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षणकेन्द्रित संस्थाबाट अनुसन्धान, नवप्रवर्तन र ज्ञान उत्पादनमा आधारित ‘रिसर्च युनिभर्सिटी’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। साथै, शैक्षिक, प्रशासनिक र सेवा प्रवाह प्रणालीलाई डिजिटल प्रविधिमा आधारित बनाउँदै क्रमशः ‘डिजिटल विश्वविद्यालय’ मा रूपान्तरण गर्ने नीति अघि सारिएको त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले जानकारी दिनुभयो।

विश्वविद्यालयले शैक्षिक प्रशासन र सेवा प्रवाहलाई सहज, पारदर्शी र पहुँचयोग्य बनाउन एकीकृत मोबाइल एप र डिजिटल ड्यासबोर्ड सञ्चालनमा ल्याउने भएको छ। परीक्षा व्यवस्थापन सूचना प्रणालीमार्फत उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, शैक्षिक अभिलेख व्यवस्थापन तथा प्रमाणपत्र वितरण जस्ता सेवा पूर्ण रूपमा डिजिटल प्रणालीबाट सञ्चालन गर्ने योजना छ।

त्यस्तै, बदलिँदो श्रमबजार र प्रविधिको माग अनुसार त्रिविले पाठ्यक्रममा उद्यमशीलता, नवप्रवर्तन र प्रविधिलाई समावेश गर्ने तथा दूर शिक्षा, डिजिटल सामग्री र लर्निङ म्यानेजमेन्ट सिस्टम विस्तार गर्ने योजना पनि अगाडि बढाएको छ।