09/07/2026, 21:51:49
सोमबार, भदौ २२, २०८३

सुरक्षाका लागि अमेरिकासँगको निर्भरता हटाएर खाडी राष्ट्रहरू आत्मनिर्भर हुनुपर्छ: कतार


आबुधाबी, भदौ २२ गते । खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा अन्य अन्तरराष्ट्रिय गठबन्धनमा मात्रै निर्भर नरही सुरक्षा क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने कतारले स्पष्ट पारेको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा आयोजित ‘हिली फोरम’ लाई सम्बोधन गर्दै कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले उक्त कुरा बताउनुभएको हो।

प्रवक्ता अल–अन्सारीले खाडी क्षेत्रमा अन्तरराष्ट्रिय सेनाको उपस्थिति र अमेरिकासँगको रणनीतिक गठबन्धन महत्वपूर्ण भए पनि त्यसले मात्रै पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने उल्लेख गर्नुभयो। “हामीलाई हाम्रा साझेदार र सहयोगीहरूको आवश्यकता छ, तर आफ्नो सुरक्षाका लागि हामी उनीहरूमा मात्रै निर्भर रहन सक्दैनौँ“, उहाँले भन्नुभयो।

अमेरिका र इरानबिच जारी द्वन्द्वमा कतार प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय रहँदै आएको छ। मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधार शिविरलाई आश्रय दिँदै आएको कतारले द्वन्द्वका क्रममा आफ्ना ऊर्जा पूर्वाधारहरूमा इरानी आक्रमणको समेत सामना गर्नुपरेको छ।

विगत छ महिनादेखि जारी तनावका कारण अमेरिका र इरान गतिरोधको स्थितिमा पुगेका छन्। इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलसन्धिमा जहाज आवतजावतमा अवरोध पुर्‍याइरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दीको दबाब बढाउँदै लगेको छ। कतारले दुवै देशबिचको तनाव कम गर्न कूटनीतिक प्रयास जारी राखेको छ।