09/02/2026, 22:50:01
बुधबार, भदौ १७, २०८३

नेपाल टेलिकमद्वारा बाढी प्रभावित जिल्लाहरूमा सञ्चार सेवा पूर्ण रूपमा सुचारु


काठमाडौँ, भदौ १७ गते । नेपाल टेलिकमले बाढीका कारण अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा आफ्ना मोबाइल बीटीएस साइटहरू सुचारु गरी प्रभावित सबै स्थानहरूमा नेटवर्क पहुँच पूर्ण रूपमा कायम गरेको छ। भदौ १० गतेको बाढीका कारण कुल १२२० वटा साइटमध्ये ८३ वटा बीटीएस साइटहरू अवरुद्ध भएका थिए भने टिमुरे, चिलिमे खोला र त्रिशूली ३ ‘बी’ साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

टेलिकमका प्राविधिकहरूको निरन्तर प्रयास, सुरक्षा निकायको समन्वय र हेलिकप्टरमार्फत जेनेरेटर, उपकरण तथा इन्धन ढुवानी गरी सेवा सुचारु गरिएको हो। बुधबार धादिङको कल्लेरी तथा नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सञ्चालनमा आएसँगै सबै क्षेत्रमा सञ्चार सेवा पुनः स्थापित भएको छ।

पूर्ण रूपमा क्षतिग्रस्त भएका तीनवटा साइटका सेवा हाल अन्य नजिकका टावरहरूबाट उपलब्ध गराइएको छ भने तिनलाई प्राथमिकतामा राखी पुनःनिर्माण गरिने टेलिकमले जनाएको छ। रसुवा बोर्डरसहितका मुख्य साइटहरू सञ्चालनमा आएपछि उद्धार तथा राहत कार्यमा ठुलो सहजता मिलेको छ। विद्युत् आपूर्ति नियमित नभएका स्थानहरूमा हाल जेनेरेटरमार्फत सेवा सञ्चालन भइरहेको छ।

टेलिकमले सेवा पुनः सुचारु गर्न सहयोग गर्ने मन्त्रालय, सुरक्षा निकाय, विद्युत् प्राधिकरण लगायत सबै सहयोगी निकायप्रति आभार व्यक्त गरेको छ।