

काठमाडौँ, भदौ ५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘सुपर एल निनो’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलताका क्षेत्रमा तत्काल पूर्वतयारीका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
जल तथा ऊर्जा आयोगको सचिवालय र जल तथा मौसम विज्ञान विभागको संयुक्त आयोजनामा ललितपुरमा आयोजित राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले पछिल्लो पूर्वानुमान अनुसार एल निनोको प्रभावले वर्षा, तापक्रम, जलविद्युत्, सिँचाइ र खाद्य उत्पादनमा असर पर्नसक्ने भएकाले गम्भीर हुन आग्रह गर्नुभयो।
नेपालमा हाल चार हजार १२० मेगावाट क्षमताको विद्युत् प्रणाली रहे पनि कुलेखानी-१ मात्र जलाशययुक्त आयोजना भएकाले ऊर्जा सुरक्षाका लागि भण्डारण क्षमता बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो। अधिकांश सिँचाइ आयोजनाहरू साना तथा मझौला नदीमा आधारित रहेकाले खडेरीको समयमा कृषि उत्पादन प्रभावित हुने गरेको भन्दै कृषि प्रणालीलाई जलवायु अनुकूलन बनाउन मन्त्रालयले ‘तराई-मधेस खडेरी उत्थानशीलता रणनीति’ तयार पारिसकेको जानकारी दिनुभयो।
जोखिम न्यूनीकरणका लागि मन्त्रालयले असोजदेखि चैतसम्म मासिक सूचना प्रकाशन गर्ने गरी ‘जल-ऊर्जा खडेरी निगरानी’ संयन्त्र गठन गरेको छ। साथै, अबका सिँचाइ आयोजनाहरूलाई केवल पानी वितरणमा सीमित नराखी कृषि उत्पादनसँग प्रत्यक्ष जोड्ने नीति अघि बढाइने बताइएको छ। गोष्ठीमा जल, खाद्य, ऊर्जा र विपद् व्यवस्थापनमा सुपर एल निनोको प्रभाव तथा अपनाउनुपर्ने उपायहरूबारे गहन छलफल भएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































