08/20/2026, 21:55:22
बिहिबार, भदौ ०४, २०८३

भ्रष्टाचार अनुसन्धान निष्पक्ष र वस्तुनिष्ठ बनाउन रवि लामिछानेको जोड: ‘अख्तियारमा राजनीतिक हस्तक्षेप हुँदैन’


काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले अख्तियारका पदाधिकारीहरूलाई बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न सुझाव दिनुभयो।

सभापति लामिछानेले भ्रष्टाचारसम्बन्धी अनुसन्धान र अभियोजनलाई अझ व्यवस्थित तथा वस्तुनिष्ठ बनाउन आग्रह गर्नुभयो। अदालतमा मुद्दा दायर हुनासाथ राष्ट्रसेवक र जनप्रतिनिधिको पद निलम्बन हुने तर पछि सफाइ पाउँदा उनीहरूमाथि पर्ने व्यक्तिगत र सामाजिक क्षति अपूरणीय हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।

पूर्व मुख्यसचिवको उदाहरण दिँदै उहाँले हतारमा अभियोजन गर्दा व्यक्ति र परिवारको सामाजिक प्रतिष्ठामा गम्भीर असर पुग्ने भएकाले छानबिन प्रक्रियामा थप मेहनत र सतर्कता अपनाउन अख्तियारलाई आग्रह गर्नुभयो।