08/20/2026, 12:50:30
बिहिबार, भदौ ०४, २०८३
नेपालमा गत आवमा लामखुट्टेबाट सर्ने रोगबाट १८ हजार ७१० जना प्रभावित, हिमाली क्षेत्रमा समेत जोखिम बढ्दै

लामखुट्टेको ‘सानो टोकाइ’ बन्दै ठूलो चुनौती, ५६ जिल्लामा कीटजन्य रोग


काठमाडौँ, भदौ ४ गते । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। लामखुट्टेको टोकाइबाट हुने रोगबाट बच्न तथा यससम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ।

लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिस लगायतका रोग लाग्ने गर्छन्। नेपालमा हालसम्म लामखुट्टेका १६८ प्रजाति पहिचान भइसकेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आर्थिक वर्षमा लामखुट्टे तथा कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए।

पछिल्लो समय जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा समेत लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। तापक्रम तथा वातावरणीय अवस्थामा आएको परिवर्तनसँगै लामखुट्टेको फैलावट नयाँ क्षेत्रमा पुग्न थालेकाले आगामी दिनमा यस्ता रोग नियन्त्रण थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।

५६ जिल्लामा कीटजन्य रोगको जोखिम

विभागले कीटजन्य रोग नियन्त्रणका लागि देशका सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी विभिन्न गतिविधि सञ्चालन गरिरहेको जनाएको छ।

किट रोग नियन्त्रण शाखाका प्रमुख डा. कर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ। रोगको विस्तारसँगै लामखुट्टेको प्रजननस्थल नियन्त्रण, व्यक्तिगत सुरक्षा र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

स्वास्थ्य विज्ञहरूले लामखुट्टेको टोकाइबाट बच्न घर वरपर पानी जम्न नदिने, लामखुट्टेको लार्भा नष्ट गर्ने, झुलको प्रयोग गर्ने तथा आवश्यक पर्दा लामखुट्टे भगाउने सामग्री प्रयोग गर्न सुझाव दिएका छन्।