08/17/2026, 16:51:22
सोमबार, भदौ ०१, २०८३

प्रधानमन्त्रीलाई सांसदका जिज्ञासाको जवाफ दिन सभामुखको रुलिङ


काठमाडौँ, भदौ १ गते । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यहरूले संसद्मा उठाएका जिज्ञासा तथा प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको छ।

विपक्षी दलका सांसदहरूले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने माग गर्दै सभामुखसँग रुलिङका लागि आग्रह गर्दै आएका थिए। आजको बैठकमा पनि विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ का विभिन्न प्रावधानअनुसार प्रधानमन्त्रीलाई सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिनुभएको हो।

सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रधानमन्त्रीलाई जवाफ दिनका लागि निर्देश गर्नुभएको बताउनुभयो।

नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आफूहरूको गम्भीर ध्यानाकर्षण भएको सभामुख अर्यालले स्पष्ट पार्नुभयो।

विपक्षी सांसदहरूले लामो समयदेखि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई सांसदका प्रश्न तथा जनसरोकारका विषयमा जवाफ दिनुपर्ने माग गर्दै आएका छन्। सभामुखको पछिल्लो रुलिङसँगै संसद्मा प्रधानमन्त्रीको जवाफदेहितासम्बन्धी विषय थप औपचारिक रूपमा अघि बढ्ने देखिएको छ।