

काठमाडौं, भदौ ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३ आवश्यकताअनुसार संशोधन गर्ने भएको छ। बुधबार बसेको पार्टीको संसदीय दलको अनौपचारिक बैठकले विधान संशोधनका लागि कार्यदलमार्फत प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल गरेको हो।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदहरूबीच संसद र सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने विषयमा अनौपचारिक छलफल भएको थियो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले संसदमा प्रस्तुत हुने विषयवस्तु, प्रस्तुतीकरणको शैली तथा सांसदहरूको भूमिकाबारे छलफल भएको जानकारी दिनुभयो।
उहाँका अनुसार संसदमा पार्टीको प्रस्तुति र गतिविधिका विषयमा आमनागरिक तह तथा पार्टी पङ्क्तिबाट आएका प्रश्न र असन्तुष्टिबारे समेत आन्तरिक छलफल गरिएको छ। संसदको मर्यादा कायम गर्ने जिम्मेवारीलाई ध्यानमा राख्दै सरकार र मन्त्रालयका कामकारबाहीबारे देखिएका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो।
सात दिनभित्र विधान संशोधनको प्रस्ताव
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलले सात दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्नेछ।
प्रस्तावित संशोधनमा सांसदको संसदीय मर्यादा, जिम्मेवारी, जनपक्षीय आवाज उठाउने भूमिका तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय समेटिनेछ।
मन्त्री र सांसदबीच मन्त्रालयगत विषयमा छलफल
बैठकमा सांसदहरूले जनताका गुनासा तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषय उठाएका थिए। त्यसक्रममा सम्बन्धित मन्त्रीहरूले आफूले सम्हालेका मन्त्रालयअन्तर्गत भइरहेका कामकारबाहीबारे जानकारी गराएका थिए।
सरकारका कामकारबाही जनतासमक्ष पुर्याउने क्रममा देखिएका दूरी तथा कमजोरी पहिचान गरी सुधार गर्ने विषयमा समेत बैठकमा छलफल भएको रास्वपाले जनाएको छ।
रास्वपाले संसदीय दलको विधानलाई समयानुकूल बनाउँदै सांसदहरूको भूमिका थप स्पष्ट र प्रभावकारी बनाउने तयारी गरेको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























