08/20/2026, 15:18:20
बिहिबार, भदौ ०४, २०८३

किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै


मकवानपुर, भदौ ४ गते । बागमती प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएको छ। प्रदेश प्रमुखको कार्यालय, हेटौँडाले प्रदेश सभा सदस्य किरण थापा मगरलाई बिहीबार अपराह्न मुख्यमन्त्री पदमा नियुक्त गरी शपथ गराउने कार्यक्रम तय गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा थापा मुख्यमन्त्री बन्न लाग्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उहाँलाई मुख्यमन्त्री नियुक्त गर्न लागिएको जनाएको छ।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत डा. अर्जुन आचार्यका अनुसार तीन दलको समर्थनसहित थापालाई मुख्यमन्त्री नियुक्त गर्न निवेदन प्राप्त भएको छ। जारी विज्ञप्तिअनुसार थापालाई बिहीबार अपराह्न ४ः०५ बजे मुख्यमन्त्री पदमा नियुक्त गरिनेछ भने ४ः२० बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

यसअघि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो।

उक्त आह्वानअनुसार एमाले, नेकपा र राप्रपाले थापालाई मुख्यमन्त्री नियुक्त गर्न समर्थनसहितको निवेदन पेस गरेका थिए। थापाले यसअघि बागमती प्रदेश सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो।

मुख्यमन्त्रीमा थापाको नियुक्तिसँगै बिहीबार नै नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरिएको जनाइएको छ।