

काठमाडौँ, भदौ २ गते । विपक्षी दलको लामो समयदेखिको मागपछि प्रतिनिधि सभामा आगामी भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्नोत्तर हुने भएको छ। २०८२ फागुन २१ गतेको निर्वाचनपछि गठित प्रतिनिधि सभामा नियमावलीअनुसार पहिलो पटक सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गरी प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न लागेका हुन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई सदस्यका प्रश्नको जवाफ दिन रुलिङ गर्दै प्रश्नोत्तरको मिति तय गरेका हुन्। प्रश्नोत्तरका लागि भदौ ५ गते दिउँसो १ बजेसम्म लिखित रूपमा प्रश्न दर्ता गर्न सकिनेछ।
सभामुख अर्यालका अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट कम्तीमा एक प्रश्न रहनेछ भने बाँकी प्रश्न दलहरूको सदनमा रहेको प्रतिनिधित्वका आधारमा तय गरिनेछ।
करिब अढाई महिनादेखि प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै आएका विपक्षी दलहरूले प्रश्नोत्तरको मिति तय भएसँगै विरोधका कार्यक्रमबाट पछि हटेका छन्। यसअघि प्रधानमन्त्री शाहले जेठ १७ गते आकस्मिक रूपमा प्रतिनिधि सभामा उपस्थित भई दलीय प्रतिनिधित्वका आधारमा सांसदका प्रश्नको जवाफ दिएका थिए।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि छुट्याउने व्यवस्था छ। उक्त समयमा बढीमा १५ जना सदस्यले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनेछन्।
त्यस्तै, नियम ५८ अनुसार प्रश्नोत्तरको मिति तय भएपछि प्रश्न सोध्न चाहने सदस्यले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि प्रश्नको विषयमा सभामुखलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ।
संविधान तथा कानुनले प्रकाशन गर्न निषेध गरेका विषय, सदन वा समितिको निर्णयको आलोचना हुने विषय, अधिवेशनमा छलफल भइसकेका विषय तथा न्यायिक, अर्धन्यायिक वा जाँचबुझ आयोग वा समितिमा विचाराधीन विषयमा प्रश्न गर्न पाइने छैन। कानुनको व्याख्या तथा गैरसरकारी व्यक्तिको वक्तव्यको आधिकारिकतासम्बन्धी प्रश्नसमेत नियमावलीले निषेध गरेको छ।
प्राप्त प्रश्न स्वीकार वा अस्वीकार गर्ने अधिकार सभामुखलाई रहनेछ। नियमावलीअनुसार पहिलो पटक नियमित प्रक्रियाबाट हुन लागेको यो प्रश्नोत्तर कार्यक्रमलाई संसद्को जवाफदेहिता र सरकारको संसदीय उत्तरदायित्वका दृष्टिले महत्वपूर्ण मानिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























