10/16/2026, 11:14:42
शुक्रबार, असोज ३०, २०८३

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत: सन् २०२१ नोभेम्बरपछिकै उच्च


काठमाडौँ, भदौ ४ गते । अस्ट्रेलियामा जुलाई महिनामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुगेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार सार्वजनिक गरेको सरकारी तथ्याङ्क अनुसार अर्थशास्त्रीहरूले ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी दरमा वृद्धि भएको हो। यो दर सन् २०२१ को नोभेम्बर महिनापछिकै उच्चमध्ये एक मानिएको छ।

एबीएसका अनुसार जुनको तुलनामा जुलाईमा १५ हजार ८०० जनाले रोजगारी गुमाएका छन् भने बेरोजगारको सङ्ख्या चार हजार २०० ले बढेको छ। श्रम तथ्याङ्क प्रमुख सीन क्रिकका अनुसार यस अवधिमा पुरुषको रोजगारी ११ हजार र महिलाको रोजगारी पाँच हजारले घटेको छ। आंशिक समय काम गर्ने महिलाको सङ्ख्यामा उल्लेख्य गिरावट आए पनि पूर्ण समय काम गर्ने महिलाको सङ्ख्या भने १७ हजारले बढेको छ।

तथ्याङ्क अनुसार समीक्षा अवधिमा कुल काम गर्ने समय ०.६ प्रतिशतले घटेर एक अर्ब ९९ करोड घण्टामा झरेको छ। यसै गरी, रोजगारीमा रहेका वा कामको खोजीमा रहेका कार्यउमेर समूहको सहभागिता दर पनि जुनको ६७ प्रतिशतबाट सामान्य घटेर जुलाईमा ६६.९ प्रतिशतमा सीमित भएको एबीएसले जनाएको छ।