08/20/2026, 21:45:41
बिहिबार, भदौ ०४, २०८३

शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि: चालु आर्थिक वर्षमा थप ४ अर्ब ६८ करोड बजेट आवश्यक


काठमाडौँ, भदौ ४ गते । मन्त्रिपरिषद्को निर्णय अनुसार सङ्घीय अनुदानमा कार्यरत शिक्षक, प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि भएसँगै चालु आर्थिक वर्षमा चार अर्ब ६८ करोड ९८ लाख ३० हजार रुपैयाँ थप बजेट आवश्यक पर्ने भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार उक्त बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग सहमति माग गरिएको छ र त्यहाँबाट स्वीकृति पाएपछि वृद्धि भएको पारिश्रमिक कार्यान्वयनमा आउनेछ।

नयाँ निर्णय अनुसार सङ्घीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ बाट बढेर ४८ हजार ५८ रुपैयाँ र आधारभूत तहका शिक्षकको ३४ हजार ७३० बाट बढेर ३८ हजार २०३ रुपैयाँ पुगेको छ।

त्यसैगरी, इसिडी सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको सङ्घीय अनुदानमा मासिक पाँच हजार रुपैयाँ थप गरिएको छ। जसअनुसार इसिडी सहजकर्ताको १२ हजारबाट १७ हजार, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार र लेखा हेर्ने कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ।

सरकारको यस निर्णयलाई स्वागत गर्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष हंशबहादुर शाहीले १० प्रतिशतको वृद्धि सकारात्मक भए पनि इसिडी सहजकर्ता र कर्मचारीको न्यूनतम पारिश्रमिक कम्तीमा २३ हजार रुपैयाँ पुग्नुपर्ने धारणा राख्नुभएको छ।

यस्तै, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले पारिश्रमिक वृद्धिका लागि धन्यवाद दिँदै आफूहरूलाई स्थायी दरबन्दी कायम गरी सेवा गर्ने अवसर दिनुपर्ने माग व्यक्त गर्नुभएको छ।