08/20/2026, 21:45:41
बिहिबार, भदौ ०४, २०८३

अमेरिकासँगको वार्ता आत्मसमर्पण होइन, राष्ट्रिय हितका लागि हो:


तेहरान, भदौ ४ गते । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँगको वार्ता आत्मसमर्पण नभएको स्पष्ट पार्दै राष्ट्रिय अखण्डता र हितको रक्षा गर्दै वार्ता प्रक्रिया अघि बढाइने बताउनुभएको छ।

तेहरानमा आयोजित एक सम्मेलनमा बोल्दै उहाँले इरानले आफ्नो विवेक र गरिमा कायम राख्दै चरणबद्ध रूपमा वार्तालाई निरन्तरता दिने धारणा राख्नुभयो। उहाँका अनुसार युद्ध अन्त्य, नौसैनिक नाकाबन्दीको अन्त्य, रोक्का गरिएका सम्पत्ति फुकुवा र त्यसपछि आणविक विषयमा छलफल गर्नु इरानका प्रमुख प्राथमिकता हुन्।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता रोक्न आफ्ना प्रमुख दूतलाई निर्देशन दिनुभएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। वार्ता रोक्ने निर्देशन दिएको केही घण्टापछि नै ट्रम्पले इरानविरुद्ध थप कडा आर्थिक कारबाहीको घोषणा गर्नुभएको छ। यस कदमले दुई देशबिचको कूटनीतिक सम्बन्धलाई पुनः अन्योलको दिशातिर धकेलेको छ।

तेहरान र वासिङ्टनबिच जुन १८ मा भएको युद्ध अन्त्यसम्बन्धी समझदारी अनुसार तोकिएको ६० दिने वार्ता अवधि सोमबार सकिएको छ। वार्ता अवधि समाप्त भएसँगै र अमेरिकाले नयाँ प्रतिबन्धहरू लागू गरेपछि आगामी वार्ता प्रक्रिया तथा कूटनीतिक प्रयासहरू थप अनिश्चित बनेका छन्।