ललितपुर, साउन ३० गते । लामो सङ्घर्ष र कानुनी लडाइँपछि ललितपुर महानगरपालिका–१५ स्थित १६ सय वर्षभन्दा बढी ऐतिहासिक महत्त्व बोकेको ‘सप्तपाताल पोखरी’ ले पुन: पुरानै स्वरूप धारण गरेको छ।
चक्रपथ विस्तार, तीव्र सहरीकरण र अतिक्रमणका कारण चौरमा परिणत भई नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको कब्जामा पुगेको यो पोखरीलाई स्थानीयवासी (स्वर्गीय पूर्ण स्थापितको पहल) को डेढ दशक लामो अदालती सङ्घर्षपछि २०७६ सालमा सर्वोच्च अदालतले पोखरीकै नाममा लालपुर्जा कायम गरिदिएको थियो। अदालतको निर्णयसँगै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको दृढ अठोट र रु. ४ करोड ७२ लाखभन्दा बढीको लागतमा ३ वर्षभित्रै पोखरीको पुनर्निर्माण सम्पन्न भई कञ्चन पानीले भरिएको सुन्दर स्वरूपमा तयार भएको छ।


लगभग १४ रोपनी १० आना क्षेत्रफलमा फैलिएको यस पोखरीको पिँधमा कालो माटो बिछ्याइएको छ, जसले ६५ प्रतिशतसम्म पानी सञ्चित राख्न मद्दत गर्छ। जलचरहरू सजिलै बाहिर-भित्र गर्न सकून् भनेर भिरालो पर्खाल, सुन्दर बगैँचा, पैदलमार्ग र ३ वटा परम्परागत कलात्मक फाल्चासहित पोखरीको पुनर्निर्माण गरिएको छ। सप्तपाताल पोखरी व्युँतिएसँगै पाटन क्षेत्रका ऐतिहासिक ढुङ्गेधाराहरू (जस्तै: लगनहिटी, टङ्गाल र कुमारीपाटीका धारा) मा पुनः पानी पलाउन थालेको छ। यसका साथै ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथ र मीननाथको रथयात्रासँग जोडिएका वटुकभैरव मन्दिरमा गरिने मांसाहुति यज्ञ तथा परम्परागत संस्कृतिहरूसमेत पुनर्जागृत भएका छन्।


सप्तपातालसँगै नजिकै रहेको र राजदल गणको ब्यारेकभित्र परेको ३३ रोपनीको ‘पलेस्वाँ’ (कमल पोखरी) लाई पनि ब्यारेकबाहिर ल्याएर धमाधम जीर्णोद्धार भइरहेको छ।


महानगरपालिकाले गोदावरी नगरपालिकासँग सहकार्य गरी करिब ८ करोड रुपियाँको लागतमा नल्लु र लेलेबाट आउने ऐतिहासिक राजकुलो मर्मत गरिरहेको छ, जसबाट ल्याइने पानीलाई फिल्टर गरी पलेस्वाँ र सप्तपाताल पोखरीमा निरन्तर प्रवाह गरिनेछ। यसका साथै वडा नं. ५ को १८ रोपनीमा फैलिएको ‘न्हूँपुखु‘ को पनि स्विस सरकारको सहयोगमा बगैँचासहित पुनर्निर्माण भइरहेको छ।


यी ऐतिहासिक पोखरीहरूको पुनर्जीवनले पाटनको हराउँदै गएको पानी, माटो, पर्यावरण र सांस्कृतिक सभ्यता जोगाउन अतुलनीय योगदान पुर्याएको छ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























