08/14/2026, 18:06:25
शुक्रबार, साउन २९, २०८३

रोल्पा बाढी-पहिरो संकट : प्रधानमन्त्री शाहलाई भेटेर वर्षमान पुनद्वारा उद्धार र पुनर्निर्माणको माग


काठमाडौँ, साउन २९ गते । निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पाका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जनप्रतिनिधिहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। पूर्वमन्त्री एवम् नेता वर्षमान पुनको नेतृत्वमा गएको टोलीले सिंहदरबार पुगेर प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्दै थबाङको उवा र सुनछहरीको भित्रीगाममा घटेका घटनाबारे गम्भीर ध्यानाकर्षण गराएको हो। भेटमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पार्न, घाइतेको निःशुल्क उपचार गर्न र प्रभावितहरूलाई तत्काल अस्थायी आवासको व्यवस्था मिलाउन माग गरिएको छ।

ध्यानाकर्षण गराउने क्रममा नेता पुनले सम्भावित थप विपद्लाई ध्यानमा राख्दै विकट क्षेत्रमा उद्धारका लागि हेलिकोप्टरसहितको टोली तयारी अवस्थामा राख्न र अवरुद्ध सडक तथा विद्यालय जस्ता सार्वजनिक संरचनाको शीघ्र पुनर्निर्माण गर्न आग्रह गर्नुभयो। जवाफमा प्रधानमन्त्री वालेन्द्र शाहले राज्यका सबै संयन्त्र उद्धार र राहतमा परिचालन भइसकेको जानकारी दिँदै जाजरकोट-रुकुम भूकम्पपछि अपनाइएको पुनर्निर्माण मोडलअनुसार नै रोल्पाको पनि क्षतिपूर्ति र पुनर्स्थापना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैबिच, रोल्पाका जनप्रतिनिधिहरूले विपद्को यस कठिन घडीमा पीडितहरूलाई सहयोग पुऱ्याउन आफ्नो एक महिनाको तलब बाढी-पहिरोपीडित राहत कोषमा दिने घोषणा गरेका छन्। साथै, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई रोल्पाका प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणका लागि हात बढाउन हार्दिक आह्वानसमेत गरिएको छ।