08/14/2026, 18:04:39
शुक्रबार, साउन २९, २०८३

खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त


धनगढी — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आज २०८३ साउन २९ गते भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

सत्ता समीकरणमा आएको परिवर्तनसँगै यसअघि मुख्यमन्त्री रहनुभएका कमलबहादुर शाहले साउन २८ गते साँझ ६ः१० बजे प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा पेश गर्नुभएको थियो। प्रदेश प्रमुखले सोही दिन राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यसञ्चालनको जिम्मेवारी तोक्नुभएको थियो।

भट्ट सुदूरपश्चिम प्रदेशका पाँचौँ मुख्यमन्त्री बन्नुभएको हो। प्रदेशसभाको दोस्रो कार्यकालमा भने सरकार परिवर्तनको क्रम तीव्र देखिएको छ। दोस्रो कार्यकालको सुरुआतमा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्नुभएको थियो। त्यसपछि कमलबहादुर शाह, दीर्घबहादुर सोडारी र पुनः कमलबहादुर शाह मुख्यमन्त्री बन्नुभएको थियो।

सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नभएकाले केन्द्रमा हुने सत्ता समीकरणको प्रत्यक्ष प्रभाव प्रदेश सरकारमा पर्दै आएको छ। हाल ५२ सदस्य कायम रहेको प्रदेशसभामा नेकपाका २२ र नेकपा (एमाले) का ११ सदस्य छन्। नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्य छन्।

नेकपा र एमालेका सदस्य संख्या जोड्दा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सहज देखिएको छ। भट्टको नेतृत्वमा अब सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

उहाँसँगै एमालेका सन्तोष शर्मा थापा, चक्रबहादुर मल्ल, दमन भण्डारी मन्त्री तथा जानकी ऐर बम राज्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ।