08/13/2026, 21:24:15
बिहिबार, साउन २८, २०८३

१०औँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने

राखेपको १२५औँ बोर्ड बैठकद्वारा मिति तय; प्रथम राष्ट्रिय पारा खेलकुद पुस १५ देखि आयोजना गरिने


काठमाडौँ, साउन २८ गते । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मङ्सिर १६ देखि २९ गतेसम्म हुने भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले यो निर्णय गरेको हो।

पटक-पटक सर्दै आएको यस प्रतियोगिताको मिति तोकिएको यो पाँचौँ पटक हो। यसअघि फागुन १ देखि ७ गतेसम्म तय गरिएको प्रतियोगिता प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण सारिएको थियो। मिति केही पछि सरे पनि प्रतियोगिताको मस्कट र लोगो भने अघि नै सार्वजनिक भइसकेको छ। मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ भने लोगोमा सात रङ्ग, चन्द्र र सूर्य अङ्कित झन्डा समावेश गरिएको छ।

यसैगरी, राखेपको बोर्ड बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद आगामी पुस १५ गतेदेखि आयोजना गर्ने निर्णय पनि गरेको छ। बैठकमा २०औँ एसियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा अफिसियलको नामावली अनुमोदन गरिएको छ भने मन्त्री पोखरेलले १०औँ राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल बनाउन सम्पूर्ण पक्षलाई एकताबद्ध भएर लाग्न आह्वान गर्नुभएको छ।