

रोल्पा, साउन २८ गते । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने नौ जना अझै बेपत्ता छन्। बुधबार राति करिब ८:४० बजे घरमाथिबाट खसेको पहिरोले करिब ६ वटा घर तथा गोठ पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
पहिरोमा परी ६० वर्षीय कमलबहादुर पुन मगर, १८ वर्षीया शान्ती पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरको मृत्यु भएको छ। उद्धारका क्रममा बिहीबार बिहान मनरखी पुन मगरको शव फेला परेको प्रहरीले जनाएको छ। घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको छ।
प्रहरीका अनुसार पहिरोमा जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनी पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर बेपत्ता छन्।
बेपत्ताको खोजी तथा उद्धारका लागि बिहीबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र स्थानीयवासी परिचालन भएका छन्। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको समन्वयमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा टोली घटनास्थलमा खटिएको छ। त्यसैगरी नेपाली सेनाको श्री सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दीपेश खड्काको कमान्डमा तथा सशस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमान्डमा प्रहरी टोली पनि उद्धारमा खटिएको छ।
घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक पर्छ। जिल्ला सदरमुकामबाट करिब २१ कोस दूरीमा रहेको बोटलबारा क्षेत्रमा अविरल वर्षाका कारण थप पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। जोखिमका बीच पनि सुरक्षाकर्मी तथा स्थानीयवासीले बेपत्ताको खोजी र उद्धार कार्यलाई निरन्तरता दिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































