

कास्की, साउन २९ गते । पोखरा महानगरपालिका–९ को कार्यालयले पोखरा बसपार्क क्षेत्रमा कम्तीमा १० वर्षदेखि बसोबास गर्दै आएका १ सय १६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजनिक गरेको छ। जग्गा प्राप्तिका लागि सरकारी आवास सुविधा नपाएका व्यक्तिहरूले दिएको निवेदनका आधारमा यो सूची तयार पारिएको हो। सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि भएमा वा दाबी विरोध गर्नुपर्ने भएमा भदौ ३ गतेसम्म आवश्यक प्रमाणसहित वडा कार्यालयमा निवेदन दिन सूचित गरिएको छ।
यसअघि महानगरले साउन २ गते प्रारम्भिक सूची सार्वजनिक गरेको थियो, जसमा २ सय ८६ परिवार भूमिहीन दलित र सुकुम्बासी तथा २ सय ३३ परिवारलाई अव्यवस्थित बसोबासीका रुपमा वर्गीकरण गरिएको थियो। मेयर धनराज आचार्यका अनुसार अध्ययनका क्रममा ५५ परिवारको विवरण दोहोरो परेको वा मेल नखाएको पाइएको थियो। पारदर्शी प्रक्रियामार्फत वास्तविक भूमिहीन र बसोबासीको पहिचान गरी व्यवस्थापन गर्न महानगरले यो कदम चालेको हो।
पोखरा बसपार्क निर्माणको योजना विसं २०३२ सालमा सुरु गर्दा आधुनिक बसपार्क बनाउने लक्ष्यका साथ १ सय ९६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। तर, उचित संरक्षण र व्यवस्थापनको कमीले गर्दा वर्षौंदेखि यस क्षेत्रमा अतिक्रमण बढ्दै गयो। हाल यो जग्गा खुम्चिएर १८७ रोपनीमा सीमित भएको छ, जसमध्ये २६ रोपनी क्षेत्र मात्रै पोखरा महानगरपालिकाको पूर्ण नियन्त्रणमा रहेको तथ्यांक छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























