08/13/2026, 21:22:31
बिहिबार, साउन २८, २०८३

होटल रेडिसनमा भेटियो ठूलो परिमाणमा ग्यासको मौज्दात, १८४ सिलिन्डर लुकाएको खुलासा

अनुगमनका क्रममा नेपाल ग्यासका ११७ र एसटीसीका ६७ वटा भरिएका सिलिन्डर बरामद, मन्त्रालयले अघि बढायो कारबाही प्रक्रिया


काठमाडौँ, साउन २८ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित ‘होटल रेडिसन‘ मा अनुगमन गर्दा ठूलो परिमाणमा ग्यास लुकाएर राखेको भेटिएको छ। बजारमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि सर्वसाधारण उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यावसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो।

सोही क्रममा गरिएको अनुगमनका क्रममा रेडिसन होटलमा ‘नेपाल ग्यास‘ र ‘एसटीसी ग्यास‘ का कुल १८४ वटा सिलिन्डर मौज्दात राखिएको पाइएको हो। विभागका अनुसार होटल परिसरमा नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिनुका साथै होटलका भान्छामा अन्य करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको समेत पाइएको छ।

बजारमा सर्वसाधारणका लागि ग्यासको कृत्रिम अभाव देखिएका बेला होटलले नियमविपरीत ठूलो परिमाणमा ग्यास मौज्दात राखेको पाइएपछि सम्बन्धित होटलमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले बजारमा ग्यासको सुलभ आपूर्ति हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने बाध्यताको अन्त्य गर्न होटल, व्यावसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथि अनुगमन र निगरानीलाई अझ कडाइ गर्ने स्पष्ट पारेको छ।