08/11/2026, 21:25:30
मङ्गलबार, साउन २६, २०८३

सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित गर्नुपर्छ : अर्थमन्त्री डा. वाग्ले


काठमाडौँ, साउन २६ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कागजात तथा अभिलेखहरूलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभएको छ।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले विगतमा घटेका क्षति र २०७२ को भूकम्पको अनुभवलाई ध्यानमा राख्दै सरकारी अभिलेखहरू प्रविधिमार्फत सुरक्षित राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। गत वर्ष भदौ २३ र २४ गते विभिन्न कार्यालयमा आगलागी हुँदा १७९ कार्यालयका करिब डेढ खर्ब बराबरका स्रेस्ता जलेर नष्ट भएकाले महालेखापरीक्षकले लेखापरीक्षा गर्न नसकेको विषयमा बैठकमा छलफल भएको थियो।

अर्थमन्त्री वाग्लेले यो दुर्घटना काबु बाहिरको परिस्थिति भएकाले कानुनी व्यवस्था अनुसार नै यसको निरूपण गरिनुपर्ने स्पष्ट पार्नुभयो। संसदीय समितिले स्थलगत अध्ययन गरी कुनै अनियमितता भएको भए बाहिर ल्याउन सक्ने र समितिको मार्गनिर्देशन अनुसार नै सरकार अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। समस्याको प्रकृतिका बारेमा सरकार र प्रतिपक्षबीच कुनै फरक मत नरहेको उल्लेख गर्दै उहाँले यदि समितिलाई यो काबु बाहिरको परिस्थिति होइन भन्ने लागेमा ऐन संशोधन गरेर अघि बढ्न सकिने बताउनुभयो।