08/07/2026, 16:04:01
शुक्रबार, साउन २२, २०८३

दूरसञ्चार प्राधिकरणद्वारा सेवा प्रदायकलाई आठबुँदे कडा निर्देशन: फोजी गुणस्तर सुधार र फाइभजी विस्तारमा जोड


काठमाडौँ, साउन २२ गते । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि, उपभोक्ता हित संरक्षण तथा प्रविधिको प्रभावकारी उपयोगका लागि सेवा प्रदायकहरूलाई आठबुँदे कडा निर्देशन जारी गरेको छ।

दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम प्राधिकरणको २०८३ साउन २१ गतेको निर्णयानुसार जारी गरिएको यो निर्देशन अनुसार सेवा प्रदायकहरूले नेटवर्कको विश्वसनीयता र सेवाको गुणस्तर सुधार गरी तोकिएका मापदण्ड पुरा भए/नभएको नियमित प्रतिवेदन पेस गर्नुपर्नेछ।

यस निर्देशन अन्तर्गत ग्राहकका गुनासो २४सै घण्टा सम्बोधन गर्न कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गर्ने, गुणस्तर नपुगेका क्षेत्रमा प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्ने र देशभर फोजी (4G) सेवा सुधार गर्दै प्रमुख शहरहरूबाट चरणबद्ध रूपमा फाइभजी (5G) सेवा सुरु गर्ने योजना पेस गर्नुपर्नेछ।

साथै, पूर्वाधारको अधिकतम उपयोग, नियमित साइबर सुरक्षा अडिट, विपद् व्यवस्थापन योजना तथा पारदर्शी एवं लागतमा आधारित महसुल दर प्रस्ताव गर्न समेत ताकेता गरिएको छ।