08/06/2026, 12:39:49
बिहिबार, साउन २१, २०८३

निजामती, सेना, प्रहरी र शिक्षकको नयाँ तलबमान तथा प्रोत्साहन भत्ता सार्वजनिक


काठमाडौँ, साउन २१ गते । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनादेखि लागू हुने गरी सरकारी कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ।

गत जेठ १५ गते बजेटमार्फत घोषणा गरिएको १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्तालाई कार्यान्वयन गर्न यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएको थियो। सोही निर्णयअनुसार मन्त्रालयले बुधबार सबै सरकारी निकायहरूलाई पत्राचार गर्दै नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन जानकारी गराएको हो।

नयाँ व्यवस्थाअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षकका साथै प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूले वृद्धि भएको तलबमान प्राप्त गर्नेछन्। यसका साथै निवृत्तभरण (पेन्सन) प्रयोजनका लागि अनुसूची १ देखि ८ सम्मको तलबमान, एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पछिको तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्तासमेत उपलब्ध गराइनेछ।

विभिन्न श्रेणीको सुरु तलबमान:

मुख्य सचिव: रु ८४,९३२
राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव): रु ७९,२९०
अतिरिक्त सचिव (पेन्सन प्रयोजन): रु ६६,५३९
राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव): रु ६२,४६६
राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव): रु ५३,६११
राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत): रु ४८,०५८
राजपत्र अनङ्कित प्रथम (नासु): रु ३८,२०३
राजपत्र अनङ्कित द्वितीय (खरिदार): रु ३६,१९२
राजपत्र अनङ्कित तृतीय: रु ३०,३७३
राजपत्र अनङ्कित चतुर्थ: रु २८,६९०