08/06/2026, 08:08:44
बिहिबार, साउन २१, २०८३

अन्तरिक्ष दौडको असर: चन्द्रमा बन्यो दुई लाख किलो फोहोरको डम्पिङ साइट

चन्द्रमामा थुप्रियो दुई लाख किलो फोहोर: मानव मलमूत्रदेखि रकेटका भग्नावशेषसम्म चन्द्रधरातलमै


काठमाडौँ, साउन २१ गते । विगत छ दशकभन्दा बढी समयदेखि सञ्चालित विभिन्न अन्तरिक्ष अभियानका कारण चन्द्रमामा करिब दुई लाख किलोग्राम मानव निर्मित फोहोर थुप्रिएको छ।

सन् १९५९ सेप्टेम्बरमा तत्कालीन सोभियत सङ्घको ‘लुना २’ यान चन्द्रमामा पुगेसँगै सुरु भएको यो क्रम हालसम्म निरन्तर जारी छ। बिबिसीका अनुसार चन्द्रमामा अवतरण गराइएका वा दुर्घटनाग्रस्त भएका ७० भन्दा बढी अन्तरिक्ष यान र तिनका भग्नावशेषहरू अहिले पनि त्यहीँ छरिएर रहेका छन्।

अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्किने क्रममा यानको तौल कम गरी इन्धन जोगाउन आफ्ना धेरैजसो गैर-अत्यावश्यक सामानहरू चन्द्रमामै छाडेका थिए। यसरी छाडिएका वस्तुहरूमा ५ वटा रोभर, वैज्ञानिक उपकरण, अमेरिकी झन्डा, पुराना बुट, औजारका साथै मानव मलमूत्र भरिएका ९६ वटा सिल गरिएका झोलाहरू रहेका छन्। त्यसै गरी अमेरिकाको नासाद्वारा सञ्चालित ‘एपोलो’ कार्यक्रमका छ वटा सफल अवतरणबाट मात्रै ७९६ वटा वस्तुहरू चन्द्रमाको सतहमा छोडिएका थिए।

चन्द्रमामा हावा, पानी, वायुमण्डल वा ब्याक्टेरियाको उपस्थिति नरहेकाले त्यहाँ फोहोर र जैविक वस्तुहरू प्राकृतिक रूपमा सड्दैनन्। वैज्ञानिकहरूका अनुसार चन्द्रमाको सतहमा फालिएका यी सामानहरू लाखौँ वर्षसम्म जस्ताको त्यस्तै रहनेछन्। हालका वर्षहरूमा नासाले चन्द्रमामा रहेका यी फोहोरहरूलाई पुनः प्रयोग (Recycle) गर्ने प्रविधि विकास गर्न अध्ययन तथा प्रयास गरिरहेको छ।

हालै अमेरिकी कम्पनी ‘स्पेस-एक्स’ ले प्रक्षेपण गरेको रकेटको करिब चार हजार किलो तौलको टुक्रा उच्च गतिमा चन्द्रमामा ठोक्किएपछि अन्तरिक्ष फोहोरको विषयमा विश्वभर पुनः गम्भीर चासो र बहस उत्पन्न भएको छ।