08/06/2026, 09:03:29
बिहिबार, साउन २१, २०८३

भरतपुरमा भूमिगत प्रणालीबाट विद्युत् आपूर्ति सुरु, असोजभित्र पूर्ण सञ्चालनमा ल्याउने लक्ष्य

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत पुग्यो, करिब ३ अर्ब रुपियाँ लगानी


काठमाडौँ, साउन २१ गते । चितवनको भरतपुरमा भूमिगत प्रणालीमार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत निर्मित भूमिगत प्रणालीको परीक्षण तथा केवुल चार्जिङ कार्य तीव्र रूपमा अघि बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हालसम्म भरतपुरका विभिन्न क्षेत्रका करिब तीन सय घरधुरीमा भूमिगत लाइनमार्फत विद्युत् जडान सम्पन्न भइसकेको छ ।

भरतपुर महानगरपालिकाको ६ लेन सडक, बाइपास रोड तथा मुख्य सहरी क्षेत्रका करिब २० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली विस्तार गरिएको छ । आयोजनाको समग्र भौतिक प्रगति ९४ प्रतिशत पुगिसकेको छ भने औद्योगिक फिडरमा समेत विद्युत् चार्ज भइसकेको छ । बाँकी रहेका सबै ग्राहकका घरमा अन्तिम जडान सम्पन्न गरी आगामी असोजभित्र सम्पूर्ण प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र एसियाली विकास बैङ्क (ADB) को करिब तीन अर्ब रुपियाँको साझेदारीमा यो आयोजना सञ्चालन भइरहेको छ । भूमिगत वितरण प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि विद्युत् आपूर्ति थप भरपर्दो र सुरक्षित हुने, हावाहुरी एवम् प्राकृतिक प्रकोपबाट हुने क्षति घट्ने र सहरी सौन्दर्य अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सक्रियतासँगै नेपाल विद्युत् प्राधिकरणबाट कार्यान्वयन र अन्तरनिकाय समन्वयका कारण लामो समयदेखि निर्माणाधीन महत्वपूर्ण विद्युत् पूर्वाधार आयोजना अहिले धमाधम निर्णायक चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।