

क्षिण कोरिया यतिबेला भीषण लूको चपेटामा परेको छ। देशको दक्षिण-पूर्वी सहर याङसानमा आइतबार दिउँसो ४२.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन १२२ वर्षको मौसम अभिलेखमै सबैभन्दा उच्च हो। अहिले यो गर्मी पश्चिमतर्फ सर्दै ९० लाखभन्दा बढी जनसंख्या रहेको राजधानी सियोलतर्फ अगाडि बढिरहेको छ, जहाँ मंगलबार ३८ डिग्री र त्यसपछिका तीन दिन ३७ डिग्रीसम्म तापक्रम पुग्ने पूर्वानुमान छ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार मे महिनादेखि हालसम्म गर्मीसम्बन्धी १६ जनाको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसले लूसम्बन्धी रोगको उपचार लिएका छन्।
राष्ट्रपति ली जाए म्युंगले मंगलबारको मन्त्रिपरिषद् बैठकमा अधिकारीहरूलाई जनताको दैनिक जीवन सुरक्षाका लागि आवश्यक कदम चाल्न र एयर कन्डिसनको माग बढेकोले विद्युत् प्रणालीको निरीक्षण गर्न निर्देशन दिए। “यो चरम मौसम सामान्य बन्दै गइरहेकोले हामीले राष्ट्रिय संकट प्रणालीको आमूल सुधारका लागि प्रयास गर्नुपर्छ,” उनले भने।
सियोल प्रशासनले सोमबार आपत्कालीन बैठक गरी गर्मीको सामना गर्न र स्वास्थ्य जोखिम न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सुरु गरेको छ। यस वर्ष स्थापित नयाँ प्रणालीअन्तर्गत राजधानीमा पहिलोपटक ‘गम्भीर लू चेतावनी’ जारी गरिएको हो। नर्सहरूले वृद्ध, अपाङ्गता भएका र दीर्घरोगी जस्ता ६३ हजार जोखिममा रहेका बासिन्दाको स्वास्थ्य जाँच गरिरहेका छन्।
सियोलको बढ्दो तापक्रम नियन्त्रणका लागि २०० ट्रकले करिब २,००० किलोमिटर सडकमा पानी छर्किरहेका छन्। सबैभन्दा समस्या भएका क्षेत्रमा दिनमा छ पटकसम्म पानी छरिने गरिएको छ। सियोलका पैदल यात्रुहरू बिहानैको चिसो समयमा पनि सिधा घामबाट जोगिन छहारी खोज्दै कार्यालय जान बाध्य भएका छन्। कोरिया मौसम विज्ञान प्रशासन (केएमए) ले यो लू कोरियाली प्रायद्वीपमा उच्च-दबाब प्रणालीको ओभरल्यापिङ र सफा आकाशमा सिधा घामको किरणका कारण भएको बताएको छ। दक्षिण-पूर्वको दक्षिण ग्योङसाङ प्रदेशमा ‘फोएन घटना’ले गर्मी थप बढाएको छ – जुन हावा पहाडी शृङ्खला पार गर्दा अर्कोतिर तातो र सुख्खा हुँदा उत्पन्न हुन्छ।
वैज्ञानिकहरूले चरम मौसमी घटनाहरू जस्तै लू मानव-जनित जलवायु परिवर्तनको कारण झन् बारम्बार र तीव्र हुँदै गएको चेतावनी दिएका छन्।




What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































